चाडपर्वले फस्टाएको पुष्प व्यवसाय

प्रकृतिको संरचनामध्ये फूल सर्वप्रिय छ । त्यसैले फूल देख्नासाथ मनबाटै ‘आहा’ भन्ने शब्द निस्कने गर्छ । कहीँकतै आउने–जाने क्रममा कुनै नौलो र राम्रो फूल देख्नेबित्तिकै सबैलाई उक्त फूलका बारेमा जानकारी लिन, हेर्न, समीपमा जान, स्पर्श गर्न र सुगन्धको अनुभूति लिन लालायित हुन्छन् । फूल देखेर आकर्षित नहुने मान्छे प्राय: कमै भेटिन्छ होला । फूलको अनुपम सौन्दर्य देखेर हरेक मानिस मोहित हुने गर्छन् । फूल देख्नासाथ टिप्न मन लाग्नु, फूलसँगको आफ्नो झलकलाई तस्बिरमा कैद गर्न मन लाग्नु भनेको सामान्य आचरण हो । त्यसैले फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतीक पनि मान्न सकिन्छ । अझै हामी नारीहरू फूल राम्रो लाग्नासाथ उक्त फूलको बिरुवा कसरी पाइन्छ होला भनेर आफ्नो जिज्ञासा राखिसक्छौं ।
अहिलेको व्यस्त समयमा पनि प्राय: सबैले आफ्नो घरमा छतभरि गमलामा फूल लगाउने गर्छन् । किनकि फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो । फूलको धार्मिक, सांस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महŒव तथा फाइदाहरू धेरै भएको हुनाले पनि यसको महŒव र दायरा वर्तमान समयमा बढ्न थालेको छ । फूल आफूमै राम्रो हुनुका साथै फूलले आफ्नो वरपरको वातावरण पनि सुमधुर, सुगन्धित बनाउनुका साथै रमणीयसमेत बनाउने गर्छ । धार्मिक कार्य गर्दा होस् या कुनै सभा–समारोह गर्दा नै किन नहोस्, फूलको थुङ्गा दिने वा माला लगाइदिने प्रचलन बढ्दै गएको छ । किनकि फूलको आवश्यकता, विवाह, व्रतबन्ध, न्वारन, अन्नप्रासनजस्ता धार्मिक कार्यहरू तथा सभा–सम्मेलन र गोष्ठीहरूमा सजावटका लागि पनि प्रयोग गर्ने गरिन्छ । त्यसैले दिन–प्रतिदिन फूलको माग बढ्दै गएको छ । त्यसैले अहिले जताततै पुष्प खेतीप्रति मानिसहरूको चासो बढ्दै गएको छ । कतै जमिन खाली हुनासाथ मानिसहरू भाडामा लिएर नै भए पनि फूल खेती गर्ने गर्छन् । त्यसमाथि अन्य स्थानमा भन्दा उपत्यका र सहरी क्षेत्रमा फूलको माग अझै बढी रहेको छ र चाडपर्व नाजिकिएसँगै फूलको माग एकदम बढेको छ । पूजा–आराधना गर्नलाई देखि लिएर घर सजाउनका लागि मानिसहरू चाडपर्वमा फूल खरिद गर्ने गर्छन् ।
घरको गमलामा लगाएका फूल मानिसहरूले आफ्नो घर सजाउन लगाएको हुनाले उक्त फूल टपक्क नटिपेर बजारमा गएर खरिद गर्ने गर्छन् । स्वयम् म आफैं फूलको सौखिन हुनाले घरमा फूलेका फूल टिप्ने गर्दिनँ । यस्तै व्यवहारले गर्दा दिन–प्रतिदिन पुष्प व्यवसाय फस्टाउँदै गएको छ । त्यसमाथि तिहार भन्नासाथ झिलिमिली बत्ती र फूलैफूलको पर्व भनेर चिनिने हुनाले जसरी विवाहको समयमा चेली गरगहनाले सजिएकी हुन्छिन् । त्यसरी नै यस पर्वमा प्रत्येक घर फूलको माला र झिलिमिली बत्तीले सजिएको हुन्छ । यतिबेला बाझो बारीमा यतिकै सामान्य रूपमा छरेको सयपत्री, मखमली र गोदावरी फूलको बजारमा निकै माग बढेको हुन्छ । तिहार सुरु हुनासाथ बजारभरि पूजासमान, फूल, बत्तीहरू फलफूल र मिठाई किन्नेको भीड अत्यधिक हुने गर्छ । अत्यधिक मात्रामा फूलको माग बढ्ने हुनाले उक्त समयमा सानो फूलको गुच्छाको पनि मूल्य बढी हुने गर्छ । त्यस प्रकारका फूलको उक्त पर्वमा विशेष महŒव हुनाले पनि व्यापारीहरूले अधिक मूल्य तोक्ने गर्छन् । बच्चादेखि वृद्धसम्म उमेर समूहका मानिसहरू यतिबेला ठेला, नाङ्लो, फुटपाथमा फूल बेचिरहेको देखिन्छ । यतिबेला फूल बेचेर नै भए पनि मानिसहरूले आफ्नो दैनिकी गुजारिरहेका छन्, जुन आर्थिक तवरले एकदम राम्रो हो ।
मानिसहरू लाखांै खर्च गरेर विदेश पलायन हुने गर्छन् तर जोस अनि जाँगर भएमा नेपालमै बसेर पनि महिनाको लाखौं कमाउन सकिन्छ, जसको ज्वलन्त उदाहरण अहिले यही पुष्प व्यवसाय बन्दै आएको छ । त्यसैले पुष्प व्यवसायका बारेमा प्रचारप्रसार अनि प्रवद्र्धन गरेमा देशको युवा पुस्तालाई देशकै लागि सदुपयोग गर्न सकिन्छ । यसो गर्नाले देशमा उपलब्ध स्रोतसाधनको उपयोग हुनुका साथै आर्थिक स्तर राम्रो हुन्छ भने बेरोजगारीमा समेत कमी आउँछ । किनकि नेपाली बजारमा अहिले अर्बभन्दा बढीको फूलको कारोबार हुने गर्छ ।