उपल्लो डोल्पामा पशुचौपायाकै भरमा ढुवानी

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका—४ का पेमा साङमो लामाको दुई सिट (१४वटा) खच्चड र चौरी छन् । उनले खच्चड र चौरीको सहाराबाट दैनिक सदरमुकाम दुनैबाट आवश्यक खाद्यान्नलगायतका सामग्री बोकेर शे–फोक्सुण्डोलगायतका अन्य पालिकामा समेत ढुवानी गर्दै आएका छन् ।
उकालो बाटोका साथै अधिकांश ठाउँमा काठबाट निर्माण गरिएका पुलबाट खोलाहरू पार गर्दै उपल्लो डोल्पामा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपरेको लामाको भनाइ छ । दिनरात नभनी खच्चड र चौँरीसँग आवश्यक सामग्री बोकेर हिँड्नु परेको लामाको दु:खेसो छ । चैत महिनाबाट सुरु भएको यो ढुवानी कार्य कात्तिकको अन्तिमसम्म मात्र हुने उनको भनाइ छ ।
चिसो बढेसँगै ढुवानी कामसमेत बन्द हुने लामाको भनाइ छ । उन भने, “दु:ख गर्ने हो भने जहाँ पनि पैसा छ, खच्चड र चौँरीसँग हिँड्दा हिँड्दै उनीहरूका आनी, बानी सबै थाहा भइसक्यो, मेरो पनि उनीहरूले थाहा पाइसके ।” पाँच वर्ष पहिले जाजरकोटको बगराबाट खच्चडमा सामग्री ढुवानी गरेर उपल्लो डोल्पा पुर्याएको दु:ख शब्दमा सुनाउनै नसकिने पीडा भएको लामाको भनाइ छ ।
हामी कसरी बाँचेका छौं भन्ने कुरा हाम्रो दैनिक जीवनयापनको सरसर्ती अध्ययन गर्नुहोस् अनिमात्र बाँकी कुरा गरौंला लामाले भारी पीडाका साथ बताए । सडक अलिमाथि सर्दैछ, हामी पनि माथि सर्दैछौं अर्का खच्चड व्यवसाय गरेका डोल्पोबुद्ध गाउँपालिका—४ का लिसेन गुरुङले भने । उनले थपे, “तपाईंहरूले दुई दिन लगाउने बाटोमा हामी आधा दिनमै पुग्छौं, त्यो हाम्रो बाध्यता हो । त्यसरी काम नगर्दा हामीलाई तोकिएको काम गर्न मुस्किल हुनेगर्छ ।”
दिनरात गरेर गन्तव्यमा पुग्नुपर्छ, अन्य मानिस निदाइरहेका हुन्छन्, हामी बिहान तीन बजे उठेर खच्चड र चौंरीलाई दाना दिई हिँड्नुपर्छ उनले थपे । चिसो मौसम, ओडारमा खानेकुरा पकाएर खानुपर्ने बाध्यता भएको सुनाउँदै उनले ढुंगा आउने डरसमेत उत्तिकै हुने बताए ।
सदरमुकाम दुनैबाट उपल्लो डोल्पामा निर्माणका सामग्रीदेखि अन्य खाद्यान्न हुँदै कपडासम्म खच्चडमा ढुवानी गरेर जीविका चलाउनु रहर नभई बाध्यता भएको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी हुने भएकाले उपल्लो डोल्पामा कुनै पनि सामग्री छोइ नसक्नु महँगो रहेको अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । दुइ वर्षअघिसम्म उपल्लो डोल्पामा सञ्चार सुविधा थिएन, कहाँ के, हुन्छ भन्ने जानकारी लिन महिनादिन नै पर्खनुपर्ने बाध्यता थियो । पछिल्लो दुई वर्षमा केही मोबाइल टावर जडानसँगै उपल्लो डोल्पाका ४० प्रतिशत भागका सर्वसाधारणले सञ्चार सेवा उपभोग गर्न पाएका छन् ।
पशुपालन व्यवसायलाई मुख्य पेसा बनाएका यहाँका सर्वसाधारणले अधिकांश पशुचौपाय खाद्यान्न ढुवानी गर्ने काममा प्रयोग हुँदै आएको बताइन्छ । दुनैबाट हिँडेको व्यक्ति कहाँ पुग्यो अत्तोपत्तो नहुने अवस्था अझै पनि कायम छ । आफ्नो तौलभन्दा बढी सामग्री बोकेर दैनिक जिन्दगी जिउने काम कम आक्न नसक्ने यहाँका सर्वसाधारणको भनाइ छ ।
बिरामी हुँदासमेत समयमै उपचार नपाउने अवस्था उपल्लो डोल्पामा छ । दुनैबाट ढुवानी गरेर लिएको औषधि सकिनेबित्तिकै तत्काल नपाउने भएकाले भगवान भरोसामा स्वास्थ्यसँग ज्ञान भई स्थानीय जडिबुटीको प्रयोग गर्दै आम्ची पेसा गर्दै आएका डोल्पोबुद्ध गाउँपालिका—५ का पौटोन गुरुङले बताए ।
उनका अनुसार आम्ची नै उपल्लो डोल्पाको उपयुक्त उपचार गर्ने खास डाक्टर हुन् । मंसिर महिनादेखि उपल्लो डोल्पामा रहेका प्रहरी चौकीसमेत चिसोका कारण दुनै झर्ने गर्दछन् । कर्मचारी र जनप्रतिनिधिसमेत चिसो छल्न दुनै, काठमाडौंलगायतका ठूला सहरमा गइसकेका हुन्छन् । मंसिरको पहिलो साताबाट चैतसम्म उपल्लो डोल्पाका अधिकांश गतिविधि चिसोका कारण ठप्प हुने गर्दछन् ।
सडक निर्माणको जिम्मेवारी सेनालाई दिन माग
भेरी करिडोरअन्तर्गत जाजरकोट—डोल्पाको सडक निर्माण गरेर हौसिएका डोल्पावासी दुनैबाट उपल्लो डोल्पासम्मको सडक निर्माणको जिम्मेवारी पनि सेनालाई नै दिनुपर्ने बताउँदै आएका छन् ।
सेनाले काम गर्दा छिटो छरितो हुने भएकाले आफूहरूको माग सेनासँग सहकार्य गरेर बाटो बनाउने नै भएको बताउँदै आएका छन् । उपल्लो डोल्पाबासीले जाजरकोट—डोल्पा सडक निर्माण गरेर आफूहरूलाई बाटो उपहार दिएको भन्दै नेपाली सेनाका कर्णेल विश्वन्धु पहाडीको प्रशंसा गरेका छन् । फेरि पनि पहाडीकै नेतृत्वमा उपल्लो डोल्पामा सडक निर्माणको जिम्मेवारी दिनुपर्ने डोल्पाका जनप्रतिनिधिको भनाइ छ ।
जिल्ला समन्वय समितिबाट निर्णय नै गरेर सेनालाई बाटो निर्माणको जिम्मेवारी दिनुपर्ने डोल्पाबासीका माग छ । उपल्लो डोल्पाका तीन पालिकाले दुइ वर्षअघि नै बाटो बनाउनका लागि सेनाको आवश्यकता महसुस गर्दै कार्यपालिकाबाट निर्णय गरी डोल्पाका सांसदलाई जानकारीसमेत गराएका थिए ।