Logo

दैनिक उपभोग्य वस्तुको मनपरी मूल्यवृद्धि

वर्षको एक पटक आउने चाडलाई उत्साहपूर्वक मनाउने सबैको इच्छा चाहना हुन्छ । मजदुरी नगरी बिहान बेलुकका चुलो नबल्ने विपन्न नागरिकका लागि दसैं तिहार जस्ता पर्वहरुले थप चुनौती दिएको हुन्छ । ऋण गरेपनि मिठो मसिनो खाने, एकसरो नयाँ लत्ता कपडा फर्ने चाहाना राखेका विपन्न नागरिक तिहारै मुखमा भएको मनपरी मूल्यवृद्धिले ठूलो मारमा परेका छन् ।
अन्य समय भन्दा चाडपर्वको बेला सहुलियत पाउने नागरिकको अपेक्षा भएपनि यस वर्ष तिहार नजिकिएसँगै गर्दा जुम्लामा दैनिक उपभोग्य वस्तु र लत्ता कपडाको ह्वात्तै मूल्यवृद्धि भएको छ । बाढी पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको कारण देखाउँदै व्यापारीले मनपरी मूल्यवृद्धि गरेका छन् ।
पुरानै सामानको मनपरी नयाँ मूल्य तोक्दै व्यापारीले उपभोक्ताको ढाड सक्ने गरेका हुन् । जुम्लामा अहिले खाना पकाउने एलपी ग्यास र पेट्रोल डिजेलको चरम अभाव भएको छ । जसका कारण तिहारको बेला आवतजावत समेत प्रभावित हुने भएको छ ।
व्यापारीले विपदको समयमा सहुलिय दिनुपर्ने ठाउँमा मौका छोपी कालोबजारी बढाएपछि जुम्लामा ब्यापक गुनासो बढेको छ । १९ असोजसम्म २२ सय पर्ने ग्याँसको मूल्य हास ३ हजार, खानेतेल २६ देखि २८ सयसम्म, चामल २४ सयसम्म र लत्ता कपडाको समेत मूल्य मनपरी रुपमा बढाइएको छ ।
तर, जिल्ला प्रशासनले बजार अनुगमन गर्दा भने पुरानै मूल्यमा बेचेको भन्ने र पछि दोब्बर मूल्य बढाएर बच्ने गरेको उपभोक्ताको गुनासो छ । “सदरमुकाममै दोब्बर मूल्य बढाएका छन् । ग्रामीण बजारको अवस्था कस्तो होला ?” गुठिचौर गाउँपालिका २ का सिंहमान बोहोराले भने, “गाउँका बजारमा चामल, दाल, तेल, चिनी, मैदा, आँटा, चामललगायत दैनिक उपभोग्य वस्तुको मनपरी मूल्यवृद्धि छ । ग्रामीण बजार केन्द्रित अनुमगन जरुरी छ । विपन्न नागरिकलाई तिहार मनाउन सकस हुने गरी मूल्य बढेको छ ।” जुम्लाका आठै पालिकामा भएका ग्रामीण बजार एकपटक अनुमगन गर्नुपर्ने स्थानीयको माग छ ।
यता सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बजार अनुमगनका क्रममा मूल्यवृद्धि भएको नपाइएको बताइन् । जुम्लामा ग्याँस र इन्धनको अभाव देखियो । उनले भनिन्, “गतसाता बजार अनुगमन गर्दा इन्धन र ग्याँस जुम्लामा कतै छैन । ३ हजार क्वीन्टल खाद्यन्न मौज्दात छ । खाने तेल पनि पर्याप्त छ । मूल्यवृद्धि नियन्त्रणमा प्रशासन सजक रहेको छ ।”
उपभोक्ता सचेत नभई मूल्यवृद्धि नियन्त्रण सम्भव नरहेको सहायक प्रजिअ रिजालको भनाइ छ । व्यापारीले ठगेको खण्डमा सिधै प्रशासनमा सूचना दिन उनको आग्रह छ । सडक अवरुद्ध भएपछि नयाँ सामान जिल्लामा भित्रिएको छैन ।
व्यापारीले नाफा खान मूल्य बढाएपनि उपभोक्ताले सूचना दिएको खण्डमा तत्काल कारवाही गरिने प्रशासनको दाबी छ । ३ कात्तिकमा जुम्लाका १३ किराना पसल, ५ तरकारी पसलमा अनुगमन गर्दा मूल्य सन्तोषजन पाइएको प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्