नेपाल एयरलाइन्सले भारतको अहमदावाद र अष्ट्रेलियासम्म उडान विस्तार गर्ने «

नेपाल एयरलाइन्सले भारतको अहमदावाद र अष्ट्रेलियासम्म उडान विस्तार गर्ने

नेपाल वायुसेवा निगम र जिएसए (जनरल सेल्स एजेन्ट) बीच भारतको मुम्बई र बैङ्लोरमा दुई दिने अन्तर्कियात्मक कार्यक्रम सम्पन्न भएको छ । निगमको व्यापार तथा बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले २६ र ३१ असोजमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरूमा उडान गर्दै आइरहेको बताए । उनले हाल नेपाल एयरलाइन्सले भारतको मुम्बई, दिल्ली र बैङ्लोरमा नियमित रूपमा उडान गरिरहेको जानकारी दिए ।
कोरोना महामारीपछि हवाई सेवा सुधारसँगै निगमको उडानमा पनि क्रमश: विस्तार हुँदै गएको बताउँदै अध्यक्ष अधिकारीले आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलिया जाने लक्ष्य रहेको बताए । नेपालमा पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न सरकारले सन् २०२३–२०३३ को अवधिलाई पर्यटन दशकको रुपमा घोषणा गरेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत सञ्चालन हुने चरणमा रहेकाले निगमको सेवालाई समयसापेक्ष थप प्रभावकारी बनाउँदै लैजाने समेत उनले बताए ।
कार्यक्रममा १२० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जनरल सेल्स एजेन्टबीच सम्बन्धित विभिन्न विषयहरूमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्