हिमालयन रिइन्स्योरेन्सको प्रबन्धपत्र संशोधनको तयारी

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट पाँच वटा प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ ।
साधारण सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी आगामी आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति तथा सञ्चालकको पारिश्रमिक तथा भत्तासमेत निर्धारण गरेको छ । साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभाको अवसर पारेर सञ्चालक समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छाले कम्पनी स्थापनाको दोस्रो वर्षमा नै अद्वितीय उपलब्धि हासिल गर्न सफल भएकोमा कम्पनीका व्यवस्थापन तह लगायत कर्मचारीप्रति कृतज्ञता व्यक्त गरे ।