गैरकानुनी रूपमा निकालिएका नदीजन्य वस्तु लिलाम गरिने

पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाबिक्री गर्ने भएको छ ।
सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्री गर्ने भएको हो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाम बिक्री गर्न नापजाच गरेको छ ।
पर्वतको वारी बेनीदेखि डम्मुवा खोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुको लिलाम बिक्रीका लागि नापजाच गरेका छन् । जलजलाको लामाखेत, मोहन चोक, मिलनचोक, केराबारी, लस्ती फोर्से, खन्याघाट लगायतको क्षेत्रमा अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवाको लिलाम बिक्री गर्न अनुगमन गरिएको जलजला गाउँपलिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दिपक आचार्यले बताए ।
साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरित उत्खनन् गरिएको बालुवालाई लिलाम बिक्री गराउन गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, जिसस र पालिका ईन्जिनियर, सुरक्षाकर्मी लगायतको उपस्थितमा किनारमा थुपारिएको नदीजन्यवस्तु नापजाच गरिएको थियो । गाउँपालिकाको उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम बिक्रीका लागि प्रक्रिया अघि बढाउने उपाध्यक्ष आचार्यले जानकारी दिए ।
१८ साउनमा पर्वत स्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरु शिल गरिएको थियो । वर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् । राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरित ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरित नदीजन्य वस्तुको उत्खनन् बढीरहेको छ ।