ललितपुर जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएका छन् ।
मंगलबार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका हुन् । उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताए ।
मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताउनु भयो । उहाँले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्न जोड दिने उल्लेख गरिन् । उनले भनिन्, ‘हामी ललितपुरवासिका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार हो । यसलाई नै यहाँको हरेक घर, परिवारको आर्थिक उपार्जन सँग जोड्नुपर्दछ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू हुनुपर्दछ । यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न म प्रतिबद्ध छु ।
त्यस्तैगरी गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताए । उहाँले मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याई बेरोजगार युवाहरूलाई रोजगारी दिने लक्ष्य रहेको बताए ।
उनले आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनको मत एमालेको भन्दा १५ हजार बढी रहेको भन्दै आफ्नै मत सुरक्षित गरेमा निर्वाचन जित्न सकिने बताए ।
त्यसैगरी ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णलाल महर्जनले प्रतिगमनकारीहरूलाई परास्त गर्नका लागि आफैँलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आफू विगतमा सांसद हुँदा मतदातारुले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले विगतमा आफ्नै नेतृत्वको गलत कामको बिरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै खराब कामको बिरुद्धमा सधैँभरि लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।