रमणीय स्थल कुलेखानी मार्खु

हाम्रो देश नेपाल रमणीय स्थल र सौन्दर्यताले भरिपूर्ण छ । नेपालमा ठूला–ठूला पर्यटकीय स्थलहरू धेरै छन्, तर काठमाडांै उपत्यकाबाट नजिकैको स्थल कुलेखानी मार्खु पनि सौन्दर्यताले भरिपूर्ण स्थल हो, जुन मकवानपुर जिल्लामा पर्छ । काठमाडौंबाट लगभग चार घण्टाको यात्रामा ५० किलोमिटर पार गर्दा सजिलै मार्खु पुग्न सकिन्छ । ठाउँठाउँमा फुलेका लालीगुँरासका रंगीविरंगी फूल र हरिया वनजङ्गल देख्दा मनमा निकै आनन्द आउने गर्छ । उपत्यकाको धूलोधूवाँबाट टाढा अनि शान्त र हराभरा वातावरणको अनुभूति लिँदै उक्त गन्तव्यस्थलमा पुग्दाको हर्षको कुनै सीमा नै छैन ।
विद्युत् उत्पादनका लागि देशमा पहिलो पटक निर्माण गरिएको मानवनिर्मित सबैभन्दा ठूलो ताल इन्द्रसरोवर अहिले नेपालको प्रमुख रमणीय आन्तरिक पर्यटकीय गन्तव्य पनि बनेको छ । मौसम राम्रो भएमा बिहान घरबाट सबेरै हिँडेमा त्यहाँ पुगेर घर फर्किन भ्याइने हुनाले उक्त स्थलप्रति सर्वसाधारणको रुचि बढ्दै गएको जस्तो मलाई लाग्छ । यस्तै सौन्दर्यताको अनुभूति गर्ने हेतुले दसैंको बिदामा मलगायत मेरो सम्पूर्ण परिवार मार्खुमा डुंगा चढ्ने र झरनाहरू हेर्न भनेर गएका थियौं । जति सुनेको थिएँ त्योभन्दा बढी राम्रो स्थल लाग्यो । हामी आफ्नै व्यक्तिगत सवारी साधनमा गएको हुनाले बिहानै निस्किएर त्यहाँ पुगेर साझ फर्किएका थियौं । तर, त्यहाँको मनमोहक दृश्यहरू देख्दा अझै एक–दुई दिन त्यहाँ बस्न पाए हुन्थ्यो जस्तो भएको थियो । जताततै हरियाली अनि सडकको वारपार रूखहरू देख्दा नानीबाबुहरू निकै खुसी भएका थिए । न त धूलो नै छ, न त कुनै प्रकारको प्रदूषण नै छ । यस्तो वातावरणमा बस्न पाए हामी अझै १०–१२ वर्ष बढी बाँच्ने थियौं कि झैँ लाग्यो ।
मार्खु र कुलेखानीअन्तर्गतको गहिरो खोचमा बाँध बाँधी नदीनालाको पानी सङ्कलन गरेर सञ्चालन भएको कुलेखानी जलविद्युत् परियोजनाको जलाशय इन्द्रसरोवर आफैँमा एक नौलो नमुना पनि हो । करिब ७ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानवनिर्मित ताल अवलोकन गर्दा जोकोही उत्साहित हुन्छन् । कुलेखानीवरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित बनाउँछ । इन्द्रसरोवरको मनोरम दृश्यमा तस्बिर खिच्न र डुंगा सयर गर्नका लागि पर्यटकहरूको भीड लाग्ने गर्छ । जाडो याममा विशेष गरी क्याम्पफायर गर्न, पिकनिक मनाउन पर्यटकहरू इन्द्रसरोवर पुग्ने गर्छन् भने कतिपय त्यहाँ पालिएको माछाको स्वाद लिन लोभिन्छन् । त्यसैले मार्खुका किसानले सामूहिक रूपमा माछा पालन गर्नेसमेत गर्छन् ।
मार्खु पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रमा नयाँ र सुविधासम्पन्न होटलहरू खुल्न थालेका छन्, जुन सकारात्मक पक्ष हो । उपत्यकामा माछा किनेर खानु र त्यहाँ पकाएको माछा खानुको स्वादमा निकै फरक हुन्छ । यस्तै विशेषताको कारणले पनि बर्सेनि आन्तरिक पर्यटकहरू बढिरहेका छन् । तर, उक्त ठाउँमा पुग्न सुविधासम्पन्न बाटो निर्माणमा सरोकारवालाको ध्यान नगएको गुनासो स्थानीय व्यवसायीहरूको छ । यदि यस कार्यमा पहल गरिने हो भने पर्यटन व्यवसाय अझै फस्टाउनुको साथै त्यहाँका बासिन्दाहरू धेरैले आर्थिक अवस्था उकास्ने मौका पाउने थिए । तर, अझै पनि कतिपय यस्ता रमणीय स्थलहरू छन् जसका बारेमा सर्वसाधारण मानिसहरूलाई सायद थाहा छैन होला । त्यसैले हाम्रो देशमा भौगोलिक क्षेत्रको आवश्यकताअनुसार विकासका पूर्वाधारहरूको विकास हुन सकेमा पर्यटन व्यवसायबाट राष्ट्रले मनग्य अर्थ कमाउने थियो होला । यसका साथै उपत्यकानजिकको छोटो दूरीमा रहेको मकवानपुर जिल्लासँग प्राकृतिक र भौगोलिक सम्पदा, सांस्कृतिक विविधता र सुन्दरता गाँसिँदागाँसिँदै पनि आवश्यक प्रचार प्रसारकोे अभावमा विकासका दृष्टिले पनि पछि परेको त्यहाँ पुगेपछि महसुस गर्न सकिन्छ ।