चुक्ता पुँजी ५ अर्ब पुर्याउन आईएमई लाइफ इन्स्योरेन्सले सेयर पुँजी थप्ने

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाले चुक्ता पुँजी ५ अर्ब पुर्याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बिमा समितिले ल्याएको छ । सोही बमोजिम कम्पनीले पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने, सेयर पुँजी थप भएपश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्काशन गर्ने लगायत कम्पनीको प्रबन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरुउपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्मितबाट पारित भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।
कम्पनीले सातै प्रदेशमा शाखा सन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरुमार्फत सेवा उपलब्ध गरिरहेको छ ।