Logo

लमजुङमा दुइटा अस्थायी मतदान केन्द्र

आगामी मसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि लमजुङमा दुइटा अस्थायी मतदान केन्द्र हुने भएको छ । सदरमुकाम बेसीसहरस्थित जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र हुने भएको हो ।
जिल्लामा रहेका सरकारी कर्मचारी, सुरक्षाकर्मी एवं कारागारमा रहेका कैदी बन्दिहरूका लागि अस्थायी मतदान केन्द्र सिफारिस भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने प्रजिअ वैद्यले बताए ।
जिल्ला समन्वय समितिको मतदान केन्द्रमा सदरमुकाममै रहेका सरकारी कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधीहरूले मतदान गर्नेछन् । कर्मचारी वा सुरक्षा निकायका प्रतिनिधी जुनसुकै जिल्लाको भएपनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएकाहरूले सो मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउने छन् ।
त्यसैगरी कारागारमा अस्थायी मतदान केन्द्र कायम भएसँगै प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ कारागारमा रहेका थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएका छन् । त्यसका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन थालेको छ । मतदाता नामावलीमा नाम दर्ता गराएका कैदि बन्दीहरूले कारागारबाटै समानुपातिक तर्फ मतदान गर्न पाउने प्रजिअ बैद्यले बताए ।
सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो ।
ऐनमा उल्लेख भए अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा/कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिले पनि प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि दुईवटा अस्थायी बाहेक जिल्लामा १ सय २८ मतदानस्थलमा एकसय ८६ मतदान केन्द्र कायम भएका छन् । निर्वाचनलाई शान्तीपुर्ण र भयरहित बनाउन सवै मतदान केन्द्रहरूमा आवश्यक सुरक्षाको तयारी गरिएको सुरक्षा समिति लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्