Logo

लाखौं खर्चेर मर्मत गरिएका अधिकांश सडक पुन: अवरुद्ध

दसैं अगाबै गाउँगाउँमा पुर्‍याएका सडक वर्षाका कारण पुन: अवरुद्ध भएका छन् । लाखौं रकम खर्चेर मर्मत गरिएका सडक पुन: अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ ।
पालिकाहरूले मुख्य सडकका साथै अधिकांश आन्तरिक सडक मौसम सुधार भएसँगै रकमको जोहो गरेर सुचारु गर्नेतर्फ ध्यान केन्द्रित गरेका छन् । जाजरकोट डोल्पा सडकसँग जोडिएको कालिमाटी बारेकोट सडक, मन्मै–हल्चौर सडक, छेडा जुनिचाँदे सडक पुन: अवरुद्ध भएका हुन् । ठाउँठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी डोजरद्वारा खनिएका सडकका कारण थुपै बस्तीसमेत जोखिममा परेका छन् । प्राविधिक स्टिमेटविपरीत डोजर चालकलाई स्वार्थ समूहले जथाभावी सडक खन्न लगाउँदा वर्षेनी लाखौं रकम खर्च हुँदै आएको छ । सडकबाट आएको पहिरोका कारण मानव बस्ती समेत जोखिममा पर्दै आएका छन् ।

एउटाले बनाउने अर्कोले भत्काउँदै
जथाभावी सडक निर्माणका कारण कर्णाली प्रदेशका सबै जिल्लामा खानेपानी, सिँचाइलगायतका योजनामा व्यापक क्षति हुँदै आएको छ । विकास निर्माण गर्दा समन्वय र सम्पर्क नगर्दा एकले निर्माण गरेका योजना अर्कोले भत्काउँदै गएको आरोप लाग्दै आएको छ ।
कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले गरेको वार्षिक समीक्षा बैठकमा यो कुरा उठेको छ । जथाभावी डोजर चलाउँदा कृषियोग्य भूमि नासिनुका साथै सिँचाइ तथा खानेपानीका भारी योजन अवरुद्ध भएको जिल्लास्थित कार्यालय प्रमुखले आंैल्याएका थिए ।
सिँचाइका नहरहरू भत्काउँदा खेतबारी बाँझो राख्नुपरेको भन्दै जिल्लास्थित कार्यालयमा उजुरीसमेत परेको समीक्षामा गुनासो आएको कार्यालय प्रमुखहरूले गुनासो राखेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सहकार्य गरेर यो समस्याको हल खोजिनुपर्नेमा समेत जोड दिइएको जलस्रोत मन्त्रालयका योजना महाशाखा प्रमुख गोपाल शर्माले बताए ।
तीन दर्जनभन्दा सिँचाइ र खानेपानीका योजना लथालिंग भएको खोपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । शाहीले भने, “सिँचाइ र खानेपानीका योजनाहरू भत्काएपछि उपभोक्ताहरू मर्मतका लागि कार्यालयमा आउनुहुन्छ, हामीसँग मर्मत गर्ने रकम अभाव हुन्छ, कसरी समस्या हल गर्नु ?” एकले बनाउँदै जाने, अर्कोले भत्काउँदै जाने हो भने काम गर्न गाह्रो हुने सल्यानका कार्यालय प्रमुख पदम देवकोटाले बताए ।
कर्णालीका १० जिल्लामा कम्तीमा पनि दुई सयभन्दा बढी योजनामा क्षति भएको प्रतिवेदन पेस गरिएको छ । सडकले पानीका मुहानहरू पुर्दा पिउने पानीकै अभाव भएको प्रतिवेदनसमेत पेस गरिएको छ । भारी मात्रामा सिँचाइ क्षेत्रसमेत पुरिएको छ । त्यस्तै खोलाहरूमा माटो भरिँदा पानीबाट सञ्चालन हुने दर्जनांै घट्टहरू पुरिएको र पानीको स्रोतसमेत पुरिँदा सिँचाइयोग्य जमिन बाँझो राख्नु परेको गुनासो समेत प्रतिवेदनमा पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्