दसैंमा एक करोडका खसी बोका निर्यात

यस वर्षको दसैंमा दाङबाट एक करोड ४ लाख मूल्यका खसी बोका निर्यात भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दसैंका लागि जिल्लाबाट एक करोड ४ लाख ४८ हजार ९ सय ७५ रुपैयाँको खसी बोका खरिद गरेर काठमाडौ पठाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । यो बाहेक व्यवसायीले पनि खसी बोका खरिद गरेर जिल्ला बाहिर पठाउने गरेका छन् । जिल्लामा हरेक वर्ष खसी बोका खरिद गरेर काठमाडौ पठाउने गरिँदै आएको छ । यसरी जिल्लाबाट खसी बोका निर्यात गर्दा मासुका लागि बाहिरीने रकम रोक्नसमेत सहयोग पुुुुगेको छ ।
निर्यात बढाउन सके जिल्लाको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताइएको छ । व्यापार कम्पनीले चाडपर्वमा बढी मासु खपत हुने भएकाले सहुलीयत मूल्यमा खसी, बोका उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष देशका विभिन्न स्थानबाट खरिद गरेर काठमाडौमा बिक्री गर्ने गरेको छ ।
जिल्लामा यस वर्षको दसैंमा ५ सय ९४ वटा खसी, बोका खरिद गरेर पठाइएको हो । तीन पटक गरेर व्यापार कम्पनीले खसी, बोका काठमाडौ पठाएको उनले बताए । व्यापार कम्पनीको केन्द्रीय कार्यालयले जिल्लाबाट खसी बोका खरिद गरेर पठाउन भनेपछि खरिद गरे पठाइएको प्रमुख सुनारले बताए ।