Logo

सुनसान उपत्यका

नवरात्रिको नवांै दिन अर्थात् नवमीमा दुर्गा माताको नवांै शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरिन्छ । यसका साथसाथै धनकी देवी लक्ष्मी माताको पनि पूजा–अर्चना गरिन्छ । घटस्थापनाको दिनबाट नै प्रत्येक देवीको मन्दिरहरूमा धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ । त्यही दिनदेखि नै शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजाआराधना र चण्डी पाठ गरी नवदुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा–आराधना गरिन्छ । यतिबेला उपत्यका एकदम नै सुनसान भइसकेको छ । सवारी साधनहरू पनि एकदम कममात्रै चलिराखेको र जताततै सुनसान छ । सडकमा सवारी साधन कम चलेको हुनाले यतिबेला न त ध्वनि प्रदूषण छ, न त वायु प्रदूषण नै छ । अन्य समयमा जताततै फोहरको डंगुर देखिन्थ्यो तर अहिले सडकमै एकछिन बस्दा पनि आनन्द आउने खालको वातावरण छ । खाली सडक, त्यसमाथि सडकको दायाँबायाँ रहेका रूख तथा फूलहरूले उपत्यकाको शोभा बढेको देखिन्छ । अन्य समयमा पनि यस्तै वातावरण अनि हराभरा उपत्यका भएमा मानिसहरू पाँच–दस वर्ष अझै बढी बाँच्ने थिए होला । बूढापाकाहरूको भनाइ नै छ, ‘जति भाँडा उति चुबुर्का’ भनेझैँ जति धेरै मानिस उति नै फोहर बढ्ने रहेछ । मानिसहरूको लापरबाहीका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो ।
मानिसहरू ठेलागाडा राखेर त्यहाँबाट निस्किएका फोहरहरू जथाभावी विसर्जन गर्ने गर्छन् भने अनियन्त्रित पार्किङको त कुरा गरेर साध्य नै छैन । अर्को कमजोरी, ठाउँठाउँमा शौचालयको व्यवस्था नहुनाले पनि यस्तो अवस्था सिर्जना भएको हो कि भन्ने लाग्छ । यदि यस्तो सुविधा सरकारले गरिदिने हो भने मानिसहरूले जहाँ मन लाग्यो त्यहीं थुक्ने, दिसापिसाब गर्ने कार्य गर्ने थिएनन् होला । हामी स्वयम् आफू नै विवेकशील भएर काम गर्दैनांै भने अरूबाट आशा राख्नु बेकार हो । मानिसहरू यतिसम्मका मूर्ख हुन्छन् कि पैसा जोगाउनका लागि सडकको वारपार अनि खोलामा लगेर फोहरको डंगुर फाल्ने गर्छन् । उपत्यकाको यस्तो अवस्था हुनुमा स्वयम् हाम्रो नै मुख्य भूमिका रहेको छ । त्यसैले हामीले अरूलाई बदल्नुपूर्व स्वयम् आफूलाई बदल्न जरुरी छ । आफ्नै आँखाअघि फोहर राख्ने भाँडा भए पनि हामी बीचबाटोमै आफूले खाएका रित्ता भाँडा जहाँ पायो त्यहीं फाल्ने गर्छांै ।
अधिकांश मानिस कोही उच्च शिक्षा प्राप्तिका लागि त कोही रोजगारी पाउने आशामा आफ्नो जन्मथलो छाडेर उपत्यका पस्ने गर्छन् । उपत्यका भन्नासाथ सपनाको सहर भनेर हामी सोच्ने गर्छांै, जहाँ विकासका सम्पूर्ण पूर्वाधारहरू अवस्थित छ । मान्यताप्राप्त ठूलाठूला विद्यालयहरू छन् । विद्यार्थीहरू आफ्नो गाउठाउँमा राम्रै नाम चलेकै विश्वविद्यालय भए पनि त्यहाँ नपढेर यही आएर पढ्ने गर्छन् । त्यस्तै बेरोजगार अर्थात् कम शिक्षित मानिसहरू कि त कामको सिलसिलामा भारत पस्ने गर्छन् कि त मनग्य पैसा कमाउने आसले उपत्यका पस्ने गर्छन् । तर उपत्यकाको यथार्थ यो हो कि यहाँ कोही आफ्नो हुँदैन । समय र परिस्थिति नै यस्तो बनिदिन्छ कि सँगै बस्ने साथीसँग पनि मन खोलेर कुरा गर्ने फुर्सद हुँदैन । यतिबेला यस्तै रहरहरू बोकेर आएका मानिसहरू सबै आफ्नो घर फर्किसकेका छन् । अझै विगतका वर्षहरूमा कोरोनाको कहर अत्यधिक भएर घर फर्किन नपाएका मानिसहरू यस वर्ष घर फर्किन पाउँदा ती मानिसहरूको आँगनीमा छाएको खुसीको कुनै सीमा नै छैन होला । यस्तो सुनसान अवस्था देख्दा यो अनुभूति भयो कि अन्य जिल्लाका मानिसहरू यहाँ आएर बसोबास नगर्ने हो भने यहाँका अधिकांश घरका कोठाहरू खालि हुने रहेछन् र राज्यले प्राप्त गर्ने राजस्वमा पनि कमी आउने रहेछ । त्यसैले यसरी बाहिर जिल्लाबाट मानिसहरू यहाँ आएर बस्नुमा उनीहरूलाई मात्र लाभ नभएर अझै बढी फाइदा उपत्यकावासीलाइ हुने रहेछ ।

प्रतिक्रिया दिनुहोस्