सहिद गौचनको पाँचौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सहिद शरदकुमार गौचनको पाँचौं स्मृति दिवसको अवसरमा आइतबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जलीसभा आयोजना गरियो । सभामा वक्ताहरूले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए ।
विगतमा संघको रुपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रुपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरूको भनाइ थियो । महासंघका अध्यक्ष रवि सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउने गौचनको सपनालाई मूर्तरुप दिएमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।
महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरूको विकासका लागि गौचनले सधैं त्याग मात्र गरेको बताउँदै गौचनको जीवनीबाट व्यवसायीहरूले शिक्षा लिनुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले निर्माण उद्योगमा गौचनको योगदान अतुलनीय रहेको बताए । उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले गौचन आफू लगायत धेरै निर्माण व्यवसायीहरूको प्रेरणाको स्रोत भएको बताए । महासचिव रोशन दाहालले गौचन सबै निर्माण व्यवसायीहरूको सच्चा अभिभावक भएको बताए ।
सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो भने महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा गौचनकी श्रीमती आशा गौचन, महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारीहरू, सदस्यहरू, कार्यालय प्रमुख प्रेम सिंह ऐर र महासंघका कर्मचारीहरूले माल्र्यापण गरेका थिए ।
गौचनको पाँचांै स्मृति दिवसको अवसरमा सातै प्रदेश तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरुमा पनि विविध कार्यक्रम गरिएको छ । गौचनको २०७४ साल असोज २३ गते नयाँ वानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उहाँको निवास नजिकै गोली हाली हत्या गरिएको थियो ।