अलैंची भित्र्याउन व्यस्त किसान

प्रदेश १ का विभिन्न पहाडी जिल्लामा किसानलाई अलैंची भित्र्याउने चटारो छ । केही वर्ष राम्रो मूल्य हुँदा अलैंची खेतीलाई कालो सुनको नाम दिइएको हो ।
केही वर्षअघि राम्रो मूल्य पाएसँगै किसाले अलैंची खेती विस्तार गर्दै आएका छन् । तर निरन्तर मूल्यमा गिरावट आएपछि किसानले सोचे जस्तो आम्दानी भने लिन सकेका छैनन् । राम्रो मूल्य पाउन थालेपछि खेतीयोग्य जमिन मासेर अलैंची खेती गर्दै आएका किसानहरु व्यापारीकै मूल्यमा बिक्री गर्न बाध्य छन् ।
सरकारले अलैंचीको निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको किसान टिकाराज लिम्बुको भनाइ छ । उनी भन्छन्, “हामीले खेतीयोग्य जमिनमा पनि अलैंची खेती गर्दै आएका छौं तर, प्राविधिक ज्ञान नहुँदा परम्परागत खेतीमै भर पर्नुपरेको छ ।”
दसैं तिहारलगायतका चाडपर्वमा खर्च जुटाउनका लागि किसानले समयमै अलैंची बिक्री गर्दै आएका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले अलैंचीप्रति किसानको आकषर्ण बढेको हो । किसानले खाली जमिन तथा ओसिलो ठाउँमा मात्र नभई खेतीयोग्य जमिन मासेर अलैंची खेती गर्दै आएका छन् । टिकाराज जस्तै जगेन्द्र लिम्बु पनि यतिबेला अलैंची भित्र्याउन भ्याइनभ्याई छ । दसैं खर्चकै लागि भएपनि व्यापारीकै मूल्यमा अलैैंची बिक्री गर्न बाध्य भएको जगेन्द्रले बताए ।
यहाँका किसानले ५ देखि ५० रोपनी क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । स्थानीय बजारमा हाल २४ देखि २८ हजार रुपैयाँ प्रतिमन अलैंची बिक्री हुँदै आएको छ । जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनामफुलेक दाँगपा, बसन्तपुर सुदाप, आङदिमहमरजुङ लगायतमा अलैंची अेची हुँदै आएको छ ।