मन्थली–लुक्ला उडान सुरु

रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सिता एयरले बिदेशी पर्यटकहरुका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।
दसैंको बेला काठमाडांैको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम भएपछि ती कम्पनीहरुले बिदेशी पर्यटकहरुलाई मन्थली विमानस्थल सम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भरेका हुन् ।
यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीहरुले यस वर्ष बेलैदेखि उडान भर्न लागेका हुन् । यो पर्यटकहरुको सिजन भएकाले दैनिक रुपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरुले बताएका छन् ।
काठमाडौंबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरुका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागि समेत रामेछाप विमानस्थल उपयोगि मानिएको छ । तर नजिकको दुरीमा रहेर पनि रामेछाप–काठमाडौको उडान भने कुनै कम्पनीहरुले पनि गर्न सकेका छैनन् ।