स्रोत परिचालनको ठोस नीति
आन्तरिक राजस्व बढाउँदै सिंजा

संघीयताको पहिलो पाँच वर्षमा अधिकांश स्थानीय सरकार आन्तरिक आयमा आत्मनिर्भर बन्न सकेनन् । आन्तरिक आय वृद्धिका प्रसस्त स्रोत हुँदा पनि परिचालन गर्न नसकेर स्थानीय तह संघ प्रदेशको अनुदानमै निर्भर रहे ।
नदीजन्य वस्तु स्थानीय तहको मुख्य आम्दानीको स्रोत हो । तर, कर्णालीका अधिकांश स्थानीय तहले गिट्टी बालुवा, ढुंगालगायतका स्रोतको परिचालन गर्न सकेनन् । भने जडिबुटी,जंगल सदुपयोग तथा व्यापार व्यवसाय प्रबद्र्धन गरी आन्तरिक आय वृद्धि गर्न स्थानीयतह असक्षमनै देखिए । जुम्लाको चन्दननाथ नगरपालिकाले वर्षमा १ करोड र अन्य सात गाउँपालिकाले वर्षमा २० लाख सम्म मुस्किलले राजस्व उठाएको देखिन्छ ।
आन्तरिक आय वृद्धि नागरिकका आबश्यकता परिपुर्तिमा राज्यको लगानी सधै अप्रयाप्त हुनेमा दुईमत छैन् । तर अझै स्थानीय तह आन्तरिक आयबृद्धिका लागि गम्भीर देखिँदैनन् । संघ प्रदेशको अनुदानकै भर परेर नत ठोस नीति बनाएका छन् । नत स्रोतको अधिकतम परिचालन गर्न सकेका छन् । जसका कारण स्थानीय सरकार आन्तरिक आम्दानीमा कमजोर देखिएका छन् ।
तर जिल्लाकै उदाहरणीय कामका रुपमा जुम्लाको सिंजा गाउँपालिकाले आन्तरिक राजश्व बढाउने अभ्यास थालेको छ । अबैध रुपमा उत्खनन् भइरहेको नदीजन्य वस्तुको विक्री वितरण तथा निकासीलाई नियमन गरी पालिकाको आन्तरिक आय वृद्धि गर्ने प्रयासमा सिंजा जुटेको छ ।
पालिका भित्रबाट उठ्ने आन्तरिक राजस्व आम्दानीलाई थप व्यवस्थित प्रयास गर्दै छौ । सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले भने,“आन्तरिक आम्दानीको मुख्य स्रोत नदीजन्य वस्तु (गिट्टी,बालुवाको) अवैध उत्खनन र बिक्रि वितरणलाई रोकेका छौ । आगामी दिनमा पालिकाले तोकेको दररेटमा बिक्री गर्ने गरिने छ । जसका लागि खुला प्रतिस्पर्धा गर्न बोलपत्र आह्वन भएको छ ।”
विगतको सरकारले परिचालन गर्न नसकेको आन्तरिक आम्दानीको स्रोतलाई व्यवस्थित गर्न लागिएको अध्यक्ष धितालको भनाई छ । अबैध उत्खनन भएर घुमेको लाखौ राजस्व अब पालिकाले संकलन गर्ने भएको छ ।
प्रारम्भिक वातावरणीय परिक्षणको लागी राय सुझाव पेश गर्ने सम्बन्धी सूचना समेत प्रकाशित भएको छ । भने नदीजन्य वस्तु उत्खनन् तथा निकासीका लागि समेत पालिकाले सूचना जारी गरी सकेको छ । पालिकाले तोकेको दररेटमा उत्खनन नगर्ने व्यवसायी अब नदीजन्य वस्तु विक्री वितरण गर्न पाउने छैनन् ।
भदौ ४ गते बसेको गाउँ कार्यापालिको बैठकको निर्णय र (ईआइए) अध्ययन रिपोर्टअनुसार वडा नं. १ देखि ३ का विभिन्न क्षेत्रमा रहेको ढुंगा, गिट्टी र बालुवा उत्खनन् संकलन तथा विक्री वितरणलाई व्यवस्थित गरी पालिकाको आन्तरिक राजस्व थप वृद्धि गर्ने निर्णय भएको छ ।
विकास निर्माणदेखी सुशासन र सेवा प्रवाहमा समेत सिंजाले फड्को मार्न थालेको छ । विगतमा न्युन राजस्व उठाउँदै आएको सिंजाले यसवर्ष आन्तरिक आम्दानी न्युनतम १० लाखबढी उठाउने लक्ष्य राखेको छ । नदीजन्य पदार्थको ठेक्का आह्वान गरे सँगै पालिकाको आन्तरिक आम्दानीको ढोका खुलेको छ ।
आन्तरिक आयमा वृद्धि भएको खण्डमा पालिकाले साना योजनाका लागि संघ प्रदेशकै मुख ताक्नु पर्ने प्रबृत्तिको अन्त्य हुने अध्यक्ष धितालको विश्वास छ । आफ्नो पाँच वर्षे कार्यकालमा सिंजालाई आन्तरिक आम्दानीमा सक्षम पालिका बनाउने समेत अध्यक्ष धितालको प्रतिबद्धता छ ।