हत्याको अभियोगमा २२ जना गाउँले पक्राउ
माझी समुदायले कुटपिट गर्दा एक महिलाको ज्यान गयो, एकको अवस्था गम्भीर

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार भेला भएका माझी समुदाका मानिसहरूले कुटपिट गर्दा स्थानीय ५५ वर्षीय बीबी माझीको मृत्यु भएको छ ।
उनीहरूको कुटाइबाट घाइते भएकी मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटना स्थलबाट उद्धार गरी मन्थलीस्थित तामाकोसी अस्पतालमा लगेर उपचार गराइराखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनसार– उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २२ जना गाउलेलाई प्रक्राउ गरिएको छ । पक्राउ परेका सबैजनाले आफुले मृतकलाई कुटपिट नगरी पितृ खुसी नभएको कारण पितृले नै आएर कुटपिट गरी मारेको बताएका छन् ।
घटना विवरण अनुसार– सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो । उनीहरूको संस्कार अनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शरीरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास उनीहरूमा रहेको छ । जसको शरिरमा पितृ पस्ने वित्तिकै ऊ काम्ने गर्दछ्, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एकदिन सत्कार सहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमा नदिमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ ।
यसरी नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन । पितृ बगाउँदा उनीहरूको शरीरमा आएको पितृ खुसी भएर काम्न छाड्ने विश्वास माझी समुदायको रहेको छ । पितृ बिसर्जन सँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर, यसपटक भने बिगत वर्षको जस्तो भएन । पितृलाई बगाउँदा समेत काम्ने व्यक्तिलाई पितृले नछाडदा कामी नै रहे । उनीहरूले पितृकर्म पूरा गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबि माझी रहेको निष्कर्ष युवायुवतीले निकाले । बीबी माझीलाई गाउँमा यस अघि पनि बोक्सीको आरोप लगाउने गरिएको थियो ।
सोही निष्कर्षसँगै उनीहरू बीबी र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा काम्दै पुगे र बिबिलाई अक्षताले हान्दै कुटपिट गर्न थाले । त्यही समयमा घुम्दै एउटा बिरालो बिबिको घरमा आइपुग्यो । माझी युवायुवतीले उक्त विरालो समाते त्यही काटेर आँगो बालेर त्यही घटनास्थलमा नै पोले । त्यती बेलासम्म बीबीको मृत्यु भइसकेको थियो । उनीहरूले बिबि माझी बोक्सी भएको र उसको शरिरवाट बिरालो उत्रिएकाले बिरालो काटेपछि बीबी मरेकी निष्कर्ष निकालेका छन् ।
छोरीको मृत्यु भएपछि उनकी ७० बर्षिय आमा सुनमायालाई घरवाट आँगनमा निकालेर युवायुवतीले कुटपिट गर्न थाले । सो घटनाका बारेमा स्थानीय अन्य समुदायका मानिसहरूले जानकारी पाएसँगै उनीहरू घटनास्थल पुगे । घटनास्थल पुुगेका स्थानीयले उद्धार गर्न नसकेपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले पहिलो पटक उनीहरूलाई नियन्त्रण लिन सकेन । प्रहरीले दोश्रो प्रयास गरी सुनमायाको उद्धार गर्न सफल भयो । सो घटनामा संम्लग्न भएका १८ जनालाई घटनास्थलवाटै नियन्त्रणमा लिएको छ भने थप ४ जनालाई सोमवार नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।
प्रनाउ थिङका अनुसार– शरिरमा पितृ चढेको बेला काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफूहरूलाई केही थाहा नै नभएको आफूसमक्ष बयान दिएको बताए । उनीहरूले मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेर मारेको बताएका छन् । उनीहरूले पितृ आफ्नो शरिरमा चढेपछि आफूहरूलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको बिषयमा आफुहरू अनविज्ञ रहेको दाबी गरिरहेका छन् । तर, प्रहरीले भने थप अनुसन्धानलाई तीव्रता दिएको छ ।