बजारमा दसैंको बढ्दो चहलपहल

हामी नेपालीहरूको महान् चाड दसैंको सुरुवात असोज १० गते घटस्थापनाको दिनबाट भइसकेको छ । उक्त दिन हामी सम्पूर्ण हिन्दू धर्मावलम्बीहरू स्नान गरी जमरा राख्ने गर्छांै । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्तिपीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । अब प्रत्येक दिन बिहानीमा जमराको पूजापाठ गर्ने गर्नुपर्छ ।
दसैं नाजिकिएसँगै बजार पूर्ण रूपमा तातेको छ । यतिबेला दसैं मनाउन घर जाने मानिसहरूको भीड अत्यधिक बढेको छ । उच्च शिक्षा हासिल गर्नेदेखि लिएर काम र व्यवसाय गर्ने हेतुले सम्पूर्ण देशभरिका मानिसहरू उपत्यका पस्ने गर्छन्, अनि यस्तै महान् चाड दसैं र तिहारको अवसर पारी आफ्नै परिवारसँग रामाइलो गरेर पर्व मनाउने हेतुले घर फर्कने गछन् । त्यसमाथि अधिकांश विद्यार्थीको विद्यालयमा दसैंको बिदा सुरु भइसकेका कारण पनि मानिसहरूको घर फर्कने लहर बढेको छ । तर, कार्यालयहरू भने फूलपातीको अघिल्लो दिनबाट मात्र बिदा हुने हुँदा प्राय: मानिसहरू टीकाको अघिल्लो दिन र टीकाकै दिन पारेर पनि आफ्नो जन्मभूमि र आफ्ना आफन्तजनकोमा फर्कने गर्छन् । त्यसैले दसैं नजिकिनु अघिदेखि नै गाडी, बस तथा हवाईसेवा कम्पनीहरूले अग्रिम बुकिङ काउन्टर खोल्ने गर्छन् । यस्तै मौका छोपी साहूहरूले पनि सवारी साधनको भाडा पनि बढी लिने गर्छन् । त्यसमाथि दसैंतिहारमा अन्य समयको भन्दा हवाई टिकेटको मूल्य अत्यधिक बढी हुने गर्छ । अन्य समयमा काठमाडौंदेखि भैरहवासम्मको हवाई भाडा ३ देखि ४ हजारसम्म पर्छ भने यतिबेला ६ हजारभन्दा बढी पर्ने गर्छ । यथार्थ यही हो कि जुन कुराको माग अत्यधिक बढ्छ, त्यसको मूल्य अवश्य नै बढी हुने गर्छ । मुख्य रूपमा यस्तै आन्तरिक पर्यटकका कारणले पनि चाडपर्व नजिकिँदा बजार भीड हुने गर्छ ।
दसैं सुरु हुनु महिना दिन अघिदेखि नै बजारमा मानिसहरूको चहलपहल बढी हुने गर्छ । सबैको मान्यता यही हुन्छ कि दसैंको मुखमा बजार जाँदा अत्यधिक भीड हुने गर्छ, जुन स्वाभाविक पनि हो । त्यस्तै, यही चाडपर्वको अवसर पारी पसलेहरूले पनि सामानहरूमा विभिन्न प्रकारका अफरहरू दिने गर्छन् । यही कारणले पनि मानिसहरू सस्तोमा धेरै सामान किन्न पाइन्छ भनेर पर्वलाई कुरेर बस्छन् । यति मात्रै नभएर व्यापारीहरूले यही मौका छोपी पुराना सामानहरू सकाउनका लागि स्टक क्लियरेन्स भनेर अन्य समयको भन्दा निकै कम मूल्यमा सामानहरू बेच्ने गर्छन् । यतिबेला बढी भीडभाड हुने भनेको कपडा, जुत्ता, ब्याग, कस्मेटिक र गरगहना पसल हो । यति मात्रै नभएर घरायसी प्रयोजनका खाद्यान्न सामग्रीहरूको पसलहरूमा पनि यतिबेला भीड नै हुने गर्छ । किनकि घर फर्कने मानिसहरूले घरमा बसेका अन्य सदस्यका लागि लत्ताकपडा तथा खाद्यान्न र मरमसलाहरू किनेर लग्ने गर्छन् भने दसैंमा यहीं बस्ने मानिसहरू बिदाभरि आफ्ना परिवारहरूसँग बसेर मीठो–मीठो परिकार पकाएर खानका लागि सामग्रीहरू किन्ने गर्छन् । यसका साथै यतिबेला मांसहारी मानिसहरू खसी किन्नमा पनि व्यस्त देखिन्छन् । किनकि विशेष रूपमा दसंैमा खसी ल्याउने कौतूहलता बढी साना नानी–बाबुहरूमा हुने गर्छ । किनकि सानासाना नानीबाबुहरूले दसैंमा मीठो–मीठो खाने, नयाँ लुगा लगाउने, टीका लगाएर नयाँ पैसा लिने, पिङ खेल्न पाइन्छ भनेर निकै नै खुसी हुने गर्छन् । र, मुहारमा यस्तै खुसी देख्नका लागि पनि हामी चाडपर्वमा बजार गएर आफ्नो परिवारका लागि भनेर सामानहरू किन्ने गर्छौं ।
प्राय: सबै कार्यालयहरूले दसंैको अवसरमा बोनसस्वरूप एक महिनाको तलब बढी दिने हुनाले पनि यतिबेला सबै जना खुसी भएर किनमेल गर्ने गर्छन् । प्राय: गरगहना र इलेक्ट्रोनिक सामानहरू खरिद गर्न भारि रकमको आवश्यकता पर्ने हुनाले पनि मानिसहरू दसैंको मौका छोपी खरिद गर्ने गर्छन् । त्यसैले यतिबेला इलेक्ट्रोनिक सामानहरू र गरगहना पसलहरूमा पनि बढी चाप देखिन्छ ।