Logo

सिकाली जात्राको परम्परा

खोकनामा सिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाबाट सुरु हुन्छ । जात्रा नवमीसम्म चल्छ । खोकनामा नवरात्रिको समयमा सिद्धिकाली जात्राको बेग्लै रौनक चलेको हुन्छ । खोकनामा तीनवटा गुठी छन्— त: गुठी, सलाँ गुठी र ज: गुठी । यी तीन गुठीले सिद्धिकाली जात्रा चलाउँछन् । प्रत्येक गुठीमा तीन–तीनजना नाइके तोकिएका हुन्छन् । ती नाइकेले आ–आफ्नो गुठीका लागि चोखो (दाग, खोट नभएको) राँगो छानेर ल्याउँछन् । तृतीयाको चार दिनअघि नै त: गुठी र सलाँ गुठीका चार–चार कुमारले पूजा सामग्री संकलन गर्छन् । पूजा सामग्री संकलन गरेपछि सिकालीमा तान्त्रिक विधिअनुसार कुमारहरूको चार दिन विशेष पूजा हुन्छ । सिकाली चौरको मन्दिरमा गरिने विशेष पूजामा मानिस, पशुपन्छी कुनै पनि जनावरलाई प्रवेश गर्न दिइँदैन । सिकाली जात्राको नाच गुठीका ४६ सदस्यीय देवगणहरूले गर्छन् । देवगणका ४६ सदस्यहरू महर्जन र डंगोल परिवारका हुन्छन् । देवगणका ४६ सदस्यलाई आ–आफ्नो जिम्मेवारी तोकिएको हुन्छ । देवगणका १४ सदस्यले १४ देवीदेवताको भूमिका निर्वाह गर्दछन् । १४ देवताहरू रुद्राणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्राणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार हुन् । हरेकले आ–आफ्नो भूमिकाअनुसारको नाच नाच्छन् । बाँकी ३२ जनाले कलश बोक्ने, धूप दिने, खाना खुवाउने, बाजा बजाउने आदि इत्यादि भूमिका निर्वाह गर्नुपर्छ ।
तृतीयाको दिन खोकनाको पश्चिमतर्फको मूल प्रवेशद्वार बाहिर तीनैवटा गुठीको तर्फबाट ल्याइएको एक–एकवटा चोखो राँगो काट्छन् । राँगाको रगत सिकाली चौरमा रहेको पुरानो मन्दिरमा लगेर चढाइन्छ । तृतीयाका दिनदेखि गुठीका देवता खलक जात्रा अवधिभर चोखो खान्छन् । चतुर्थीको छोयलाभू मनाइन्छ । छोयलाभू मनाउन तीनैवटा गुठीका सदस्यहरूको हरेक घरका घरमूली आएर भोज खान्छन् । भोजपछि तीनवटै गुठीबाट तीन–तीनवटा घ्याम्पो संकलन हुन्छ । पञ्चमीको दिन खोकना जात्राको मुख्य दिन हो । पञ्चमीका दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ । रुद्रायणी मन्दिरबाट देवीदेवतालाई बाहिर निकालेर खटमा राखिन्छ । खटमा राखिएका देवीदेवतालाई सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ । साथै तीनवटा गुठीबाट संकलन गरिएको तीन/तीनवटा घ्याम्पो दुई/दुई जनाले बोकेर सिकालीमा लिएर जान्छन् । घ्याम्पोमा घरेलु मदिरा ठों राखिएको हुन्छ । त्यस दिन भोज खाएपछि ४६ जना देवता सलाँ: गुठीमा आउँछन् । पोसाक, मुखुण्डो लगाएर खोकना वरिपरि घुम्छन् । गाउँलेहरूले ठाउँ–ठाउँमा पूजा गरी बलि चढाउँछन् । बेलुका डबलीमा वीर, भद्र र महाकालीलाई राँगो बलि चढाइन्छ । षष्टीका दिन भने सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गर्छन् । स्वस्थानी व्रतकथामा उल्लिखित दक्ष प्रजापतिको यज्ञ प्रसङ्ग झल्कने नाच हुन्छ, सतीदेवीले अग्निकुण्डमा होमिएर देहत्याग गरेको । सतीदेवीले आत्मदाह गरेपछि भगवान् महादेव आक्रोशमा आउनुहुन्छ । वीर, भद्र, महाकाली जटाबाट निस्किएर हवनकुण्ड नष्ट गर्छन् । हवनकुण्डको अग्नि रुद्राणी र महादेवले कुल्चँदै जान्छन् । त्यस समयमा महादेवले सतीदेवी बोकेका हुन्छन् ।
सप्तमीका दिन डबलीमा लीला नाच हुन्छ । यो लीला नाच १४ जनाले प्रस्तुत गर्छन् । यो नाच कुमार र गणेशको सुमेरु पर्वत परिक्रमा कथामा आधारित छ । रुद्रायणी मन्दिरबाट मुखुण्डो लगाएका १४ जना पात्रलाई दुई–दुई जनाले पाखुरामा समातेर उफार्दै डबलीमा लग्छन् । बाजा बजाउने समूह पछाडिपट्टि बस्छन् । लीला नाच देखाउने अघिल्लो पंक्तिमा नाच प्रस्तुत गर्छन् । यसै दिन महिषासूर वध कथामा आधारित दैत्य संग्राम नाच लीला प्रस्तुत हुन्छ । अष्टमीको दिन तीनवटै गुठीको जात्रा सम्पन्न हुने दिन हो । इनावाहरू तान्त्रिक विधिअनुसार मन्त्र उच्चारण गर्दै गाउँ घुम्छन् । जात्राको समयमा गुठीमा लगेका मन्दिरका मूर्ति पुन: प्रतिस्थापन गरिन्छ । नवमीका दिन १४ देवताको मुखुण्डो मन्दिरको भित्तामा टाँगिन्छ । तान्त्रिक विधिद्वारा मुखुण्डोहरू पुन: चारवटा बाकसमा थन्काइन्छ । नाचका पोसाकहरू भने सबै देउता खलकले सुरक्षितसाथ घरमा राख्छन् । जात्रा थन्क्याएपछि दशमीको दिन आराम गर्छन् । जात्राका समय आफ्ना सबै नातेदारलाई डाकेर भोज खुवाइन्छ । सिंगो देश दसैंको माहौलमा रमिरहेका बेला खोकनामा भने दसैंको कुनै असर हुँदैन । किनभने खोकनामा दसैं नै मनाइँदैन ।

प्रतिक्रिया दिनुहोस्