कृषि बिमालेख संशोधनले बाख्रा किसानलाई सहज

बिमा समितिले बाख्रा बिमालेखमा बाख्रा बिमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बिमा, सामूहिक बाख्रा बिमालगायतका व्यवस्थाहरु थप गरी बाख्रा बिमालेखमा संशोधन गरेको छ ।
जसअनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बिमा गर्न सक्ने, बिमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बिमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्नेलगायतका व्यवस्था गरिएको छ ।
यसैगरी, बाख्रा बिमालेख बमोजिम बिमांक गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बिमांक रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बिमाशुल्क लाग्ने व्यवस्था रहेको छ ।
बाख्रा बिमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १०० प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।
बाख्रा बिमालेख खरीद गर्दा दुर्घटना बिमावापत् बिमाशुल्क प्रति बिमित ५ सय रुपैयाँ बिमाशुल्क बुझाउुपर्ने र त्यसरी बुझाइएको बिमाशुल्क वापत बिमित बाख्रापालक कृषकको २ लाख रुपैयाँको दुर्घटना बिमा हुने समेत व्यवस्था संशोधित बाख्रा बिमालेखमा रहेको छ ।
बाख्रा बिमा अन्तर्गत भौतिक सम्पत्तिको बिमा गर्दा बिमा समितिबाट जारी सम्पत्ति बिमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ ।
बीमकले आफूसमक्ष परेको बाख्राको बिमा दावीको तत्काल छानविन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्याङ्कनकर्ताले १५ दिनभित्र क्षति मूल्यांकन गरेर प्रतिवेदन पेश गर्नुपर्ने र क्षति मूल्यांकन प्रतिवेदन पेश गरिएको मितिले ३५ दिनभित्र बीमकले दायित्व यकीन गरी बिमितलाई दावी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।
बिमितले दाबी भुक्तानीवापत रकम नपाउने भएमा सोही अवधिभित्र कारणसहित बिमितलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था समेत रहेको छ ।