विद्युत् निर्यात गर्ने उद्देश्य प्राधिकरणको नभएको दाबी «

विद्युत् निर्यात गर्ने उद्देश्य प्राधिकरणको नभएको दाबी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत् निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।
मंगलवार सुन्दर यातायात प्रालिले आयोजना गरेको विद्युत्ीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत्् प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत् निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले नेपालमा उत्पादित विद्युत् नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे ।
घिसिङले विद्युत् खपत बढाउनका लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युत्ीय प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा नै विद्युत् खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने बताए । घिसिङले विद्युत् निर्यात गरेरभन्दा विद्युत् खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे । उनले विद्युत् प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत्् भारतमा निर्यात गरेको बताए । घिसिङले विश्वमा विद्युत् संकट भएर युरोपमा १ युनिट विद्युत्को करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत् निर्यात गर्नु मुलुकको विद्युत्ीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधनसमेत विद्युत्ीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गरे । उनले हरेक काममा विद्युत् प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए । घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । उनले विद्युत्् कम मूल्यको खपत भए पनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताए ।
उनले अब विद्युत्ीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताए । उनले चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत् र ट्रान्सफर राखिदिने बताए ।

प्रतिक्रिया दिनुहोस्