सोह्रश्राद्धको महत्व

भदौ २६ गतेदेखि सोह्रश्राद्ध सुरु भइसकेको छ र यसको समापन आश्विन ९ गते हुनेछ । प्रतिपदा तिथिदेखि सुरु भएर जमरे औंसीको दिनसम्म १५ दिन पितृहरूलाई सम्झने गरिन्छ । पितृहरूको उद्धारका लागि घरघर र तीर्थस्थलहरूमा श्राद्धकर्म गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्य तिथिमा चोखो गरी श्राद्ध गरी तर्पण र पिण्ड दान दिइन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरूलाई ऋणमुक्त गरिदिने, पितृहरूप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दसैं र तिहारजस्ता ठूला चाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरूलाई खुसी पार्नु पर्छ भन्ने हाम्रो पौराणिक मान्यता रहेको छ । हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान आफ्ना पितृहरूलाई गरिन्छ । त्यसैले हामी पितृ देवतालाई एकदम पुज्ने गर्छांै ।
पितृहरूलाई प्रसन्न पार्न, हामीबाट अनजानमा अनादर, गल्ती तथा लापरवाही भएमा उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्ने हेतुले श्राद्ध गर्ने गरिन्छ । त्यसैले सोह्रश्राद्धको प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पुर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन्, जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावश्याका दिन श्राद्ध गर्ने गर्छन् । मानिसहरू उक्त १५ दिनको समयमा प्रत्येक दिन स्नान गरी तर्पण दिने, चोखो खाने, लसुन–प्याज, माछामासुसमेत नखाई शुद्ध खाना खाने गर्छन् भने उक्त समयभरि नै मानिसहरूले घरमा पूजाआजा गर्दा मन्दिरमा घन्टी बजाउन हुँदैन भनेको पनि सुन्ने गरिन्छ । किनकि पितृ असन्तुष्ट भएमा पितृको सराप लाग्छ भन्ने जस्ता भनाइहरू पनि हामीहरूले सुनिराखेका हुन्छौं । त्यसैले सोह्र सराद लाग्नुअगावै नै मानिसहरू आफ्नो घर सफा गर्ने तथा चोख्याउने समेत गर्दछन ।
आफ्नो दिवंगत पितृको जुन दिन तिथि परेको छ त्यसको ठीक अघिल्लो दिन श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा, शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्छन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । त्यसको भोलिपल्ट स्नान गरी विधिवत् रूपमा ब्राह्मण बोलाएर श्राद्ध गर्ने गरिन्छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ, जस अनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फुपूहरूलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटामात्र पितृका लागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । श्राद्धमा पितृका नाममा चढाइने पिण्ड भात, जौ तथा गाईको दूधबाट तयार गरिएको खिरको डल्लो हो । गाईको दूध, मह, घिउ र खुदो राखेर पिण्ड पकाइन्छ र पिण्ड बटार्ने बेलामा जौ र तील पनि राखिन्छ । त्यसैले सोह्रश्राद्धको प्रत्येक दिनको छुट्टाछुट्टै विशेषता रहेको छ । जसले पूर्णिमाका दिन श्राद्ध गर्छ उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्र–पौत्रादि एवं ऐश्वर्य वृद्धि हुनुका साथै पूर्ण फल भोग गर्न पाइन्छ भन्ने मान्यता छ ।
प्रतिपदाको दिन धन–सम्पत्तिका लागि, द्वितियाको दिन श्राद्ध गर्ने व्यक्ति राजा समान हुने, शत्रु र पाप नाशको चाहना गर्नेले तृतीयाको दिन, उत्तम लक्ष्मी प्राप्तिका लागि पञ्चमी तिथि, षष्ठी तिथिका दिन श्राद्ध कर्म सम्पन्न गर्ने व्यक्ति देवताद्वारा पुजिन योग्य हुने, सप्तमी तिथिका दिन श्राद्ध गर्नेलाई महान् यज्ञको पुण्यफल, सम्पूर्ण समृद्धि प्राप्तिका लागि अष्टमीका दिन, प्रचुर ऐश्वर्य एवं मनअनुकूलकी श्रीमती प्राप्तिका लागि नवमी तिथि, ब्रह्मत्व लक्ष्मी प्राप्तिका लागि दशमी तिथिमा श्राद्ध गर्ने गरिन्छ । त्यस्तै एकादशीका दिन गरिने श्राद्ध सर्वश्रेष्ठ दान हो । यसबाट समस्त वेदको ज्ञान प्राप्त हुनुका साथै कर्ताको सम्पूर्ण पापकर्म विनाश हुन्छ र निरन्तर ऐश्वर्य प्राप्त हुने, द्वादशी तिथिमा प्रचुर अन्न प्राप्ति र त्रयोदशीका दिन गरिने श्राद्धबाट सन्तति, बुद्धि, धारणाशक्ति, स्वतन्त्रता, उत्तम पुष्टि, दीर्घायु तथा ऐश्वर्य प्राप्त हुने पौराणिक मान्यता रहेको छ ।