लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
पालिका, जिल्ला हुँंदै यस प्रदेशअन्तर्गतका सबै स्वास्थ्य निकायले आफ्नो क्षेत्रमा रहेका बालबालिकालाई नेपाल सरकारले तोकेका सबै खोप लगाएको सुनिश्चित भएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तय गरेका सबै मापदण्ड वडा खोप समितिदेखि प्रदेश खोप समन्वय समितिसम्मले स्थलगत अनुगमन र नियमन गरेर प्रतिवेदन केन्द्रीय निकाय स्वास्थ्य सेवा विभागमा पठाएका थिए । स्वास्थ्य मन्त्रालय माताहतको स्थास्थ्य सेवा विभागले तल्लो तहदेखि आएको पूर्णखोप सुनिश्चतताको प्रतिवेदनलाई प्रमाणीकरण गरेपछि लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेशमध्ये दोस्रो हो ।
यसअघि बागमती प्रदेश पूर्णखोप सुनिश्चित भएको थियो । लुम्बिनी प्रदेशमा खोप लगाउन आवश्यक रहेका ९० हजार बालबालिका थिए । त्यसमध्ये ६६ हजार बालबालिकालाई सबै खोप लगाइएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । अझै पनि १० प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित छन् । तथ्यांकअनुसार ८५ प्रतिशत बालबालिकाले सबै खोप लगाएपछि सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने प्रचलित मान्यता छ । त्यसैअनुरुप घोषणा गरिएको हो । तर दिगोपनाका लागि छुटेका बालबालिकालाई पनि पूर्णखोपको दायरामा ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ ।
लुम्बिनी प्रदेश पूर्णखोप समन्वय समितिका संयोजक तथा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख अमिक शेरचनले घोषणालाई सुनिश्चिततामा निरन्तर लैजान सबै स्थानीय तह र स्वास्थ्य सम्बद्ध कार्यालयलाई आग्रह गरे । “घर घरमा, कोठा कोठामा पुगेर खोप नलगाएका बालबालिकालाई खोपको दायरामा ल्याउनु कम्ती चुनौती थिएन, तैपनि महिला स्वास्थ्य स्वयम्सेविकादेखि दातृ निकायसम्मको सहयोगले हामी पूर्णखोप सुनिश्चित बन्न सफल भयौं,” उनले भने । तर यसलाई दिगोपना र निरन्तरता दिन धेरै चुनौती रहेको पनि उनको अभिव्यक्ति थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित चौधरीले अझ ैपनि लुम्बिनी प्रदेशका मधेस क्षेत्रमा खोपप्रतिको सचेतना अत्यन्तै कमजोर रहेको बताउँंदै बांके, बर्दिया, कपिलवस्तु तथा रुपन्देहीका केही क्षेत्रलाई अझै पनि पूर्णखोपको दायरामा ल्याएर सचेतना जगाउन आवश्यक भएको बताए ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले नेपाल सरकारको प्रमुख प्राथमिकता प्राप्त र संविधानले पनि मौलिक हकका रूपमा सुनिश्चित गरेको खोप सेवालाई सबै निकायको समन्वय र सहजीकरणबाट मात्रै सार्थकतामा लैजान सकिने बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खोप कार्यक्रम पालिकाको सबैभन्दा प्राथमिकताको कार्यक्रम रहेको भन्दै घर, कोठा कोठामा पुगेर बालबालिकाको तथ्यांक लिन आफूले स्वास्थ्य महाशाखालाई ध्यानाकर्षण गराइसकेको बताए । सो अवसरमा सम्पूर्ण पालिकाको तर्फबाट राप्ती गाउँपालिकाका प्रकाश विष्ट, महिला जनप्रतिनिधिका तर्फबाट कमलापती चौधरी, जिल्ला स्वास्थ्य कार्यालयका तर्फबाट पाल्पा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द गिरिलगायतले भनाइ राखेका थिए । सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।