खोटाङका बसपार्क प्रयोगहीन

खोटाङको दिक्तेलमा निर्माण गरिएका दुईवटा बसपार्क उपयोगविहीन बनेका छन् । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोगविहीन बनेका हुन् ।
आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनी जग्गा दिएका थिए । बनेको वर्ष दिनपछि १२ पुस २०७३ देखि आचार्य गाउँको बसपार्क सञ्चालनमा ल्याइएको थियो
बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस यतिबेला दिक्तेलको रत्नपार्कस्थित किराँतचोक आसपासमा सडकको कुनामा पार्क गर्ने गरिएको छ । बसपार्कमा नियमित बस नपुगेको स्थानीयबासी तथा जग्गा दाता बताउँछन् । स्थानीय सरकारले पनि चासो नदिएको जग्गादाता तथा स्थानीयबासी पर्शुराम आचार्यको भनाइ छ ।
बसपार्क स्थलमा आवश्यक संरचना अपायक ठाउँमा भएको र पार्किङ स्थलमा खाना बस्ने सुविधा नभएकाले बस पार्किङ स्थलमा जान नसकेको चालकहरू बताउँछन् । बसपार्कसम्म पुग्ने सडक र बसपार्कमा आवश्यक संरचनाको कारण देखाउँदै व्यवसायीहरूले बस लैजान आलटाल गर्ने गरेको टा«फिक प्रहरी खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक दलबहादुर खत्रीले बताए ।
बसपार्कमा शौचालय, यात्रु प्रतीक्षालयलगायतका संरचना जीर्ण बन्दै गएको छ । दुवै बसपार्क अपायकमा ठाउँमा पर्ने र आवश्यक संरचना अभावमा नियमित बस लैजान समस्या भएको खोटाङ यातायात प्रालिका पूर्वी सेक्टर धनीराम राई नछुङले बताए ।