चेपाङ समुदायको उत्थानका लागि प्रतिबद्ध छौं: मुख्यमन्त्री «

चेपाङ समुदायको उत्थानका लागि प्रतिबद्ध छौं: मुख्यमन्त्री

चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङलगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएरमात्रै खाने प्रचलन रहेको छ ।
नेपाल चेपाङ संघले आयोजना गरेको कार्यक्रममा न्वाङगी पर्वमा फलाक्ने विधि र पर्व मनाउनेबारे चर्चा भएको थियो । समूह वा व्यक्तिगत रूपमा चेपाङहरुले भदौ पूर्णिमा आसपासमा न्वाङगी मनाउने गर्छन् । पान्दे (पुरोहित) लाई बोलाएर राती फलाक्ने (झाँक्रि बस्ने) गरेपछि भोलिपल्ट भोजभतेर गरेर रमाइलो गर्ने चलन छ ।
नेपाल चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले पान्देबाट आशीर्वाद लिने र नयाँ अन्न तथा फलफूलहरु चढाएर रमाइलो गरिने बताए । “पातालमा हराएको भूतको शक्ति तानेर चेपाङको दीर्घजीवन र समृद्धिको कामना गर्ने पर्वका रुपमा न्वाङगीलाई लिइन्छ”, उनले भने, “यो बेला भाकल पूरा गर्ने, ग्रहदशा शान्त गर्ने, शुभकार्य गर्ने दिन पनि मानिन्छ ।”
घैया धान, मकै, कोदो, पीडालु, कन्दमुल, घिरौला, फर्सी, निमुवा, वामरीलगायतका अन्न तथा फलफूलहरु जम्मा पारेर पान्देले ड्याङग्रो बजाउँदै पूजा गर्ने गर्छन् । “पूर्णिमा तिथिलाई आधार मान्दा पर्व मनाउदा एकरूपता नहुने भएरै नेपाल संघले भदौ २२ मै न्वाङगी पर्व मनाउने निर्णय ७ वर्ष पहिले गरेको थियो ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले बागमती प्रदेश सरकारले न्वाङगी पर्वमा सार्वजनिक बिदा दिएकोमा खुसी व्यक्त गरे । “सार्वजनिक बिदाले उत्साहित छौं, आगामी वर्षमा संघीय सरकारबाटै सार्वजनिक बिदा हुने अपेक्षामा छौं”, उनले भने, “भाषा, संस्कृति जगेर्नाका लागि चेपाङ समुदाय अब एकजुट हुनेछन् ।”
कालिका–८ भोर्लेघारीका रामजीमाया चेपाङले ७ वर्षयता पुरोहितको काम गर्दै आएको बताए । उनका अनुसार दाजुभाइ, आफन्तीहरु मिलेर न्वाङगी फलाक्ने र समूहगत रूपमै पर्व मनाउने प्रचलन रहेको बताउनुभयो । ८ वर्ष देखि पुरोहितको काम गर्दै आउनुभएका भोर्लेघारीकै मानबहादुर चेपाङले नयाँ अन्न तथा फलफुलहरु नचढाइ खान नहुने मान्यता रहेको बताए । राप्ती–१० कोराकाका मिलन चेपाङले युवा पुस्ताहरुसमेत चेपाङ संस्कृति जगेर्ना गर्न सक्रिय बन्नुपर्ने बताए । बागमती प्रदेश सरकारले न्वाङगी पर्वको अवसर पारेर आज (बुधबार) चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । न्वाङगी पर्वको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेपाङ समुदायमा शिक्षा, सीप विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । “चेपाङको घनावस्ती रहेका मकवानपुर, चितवन, धादिङका पहाडी क्षेत्रलाई चेपाङ विशेष क्षेत्र घोषणा गरेका छौं”, उनले भने, “विशेष कार्यक्रम पनि ल्याउँछौँ, आर्थिक उन्नतीका कार्यक्रम लागू हुनेछन् ।” उनले एकीकृत बस्ती निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको बताए । “स्थानीय तहबाट नामावली संकलन गरेर छिट्टै बस्ती निर्माणको काम सुरु हुनेछ”, उनले भने, “खरको छाना उन्मुलन पनि गर्नेछौं ।” बागमती प्रदेशभित्रका १ सय १९ पालिकाहरुबाट दलित तथा पछाडि परेका समुदायका विद्यार्थीलाई आवासीय सुविधासहित नि:शुल्क प्राविधिक शिक्षा दिएर दक्ष जनशक्ति उत्पादनमा लागेको बताए । स्वदेशमै कम्तिमा ५० हजार रुपैयाँ आयआर्जन गर्न सक्ने बनाएर सम्बन्धित पालिकामै पठाइने उनको भनाइ छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ समुदायको हकहितका लागि प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्