आफ्नो मन्त्रालयको सशक्तीकरण गर्न अति जरुरी रहेको महिला, बालबालिका मन्त्रीको भनाइ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयको सशक्तिकरण गर्न अति जरुरी रहेको बताएका छन् ।
मन्त्री रेग्मीले सबैभन्दा बढी जनसरोकारको मन्त्रालय भएर पनि स्रोत, साधनमा अतिकमी भएको उल्लेख गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सशक्तिकरण गर्न अति आवश्यक रहेको बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरुद्धको १६ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले बजेटको कमी भएकै कारण महिलाहरूको सशक्तिकरण गर्ने कार्यक्रमलाई समेत आफ्नो मन्त्रालयले अघि बढाउन नसकेको स्पष्टिकरण दिए ।
दूरदराजमा रहेका महिलाहरूको जीविकोपार्जन राम्रोसँग हुने अवस्थाको सृजना गर्न मन्त्रालय चिन्तित भए पनि त्यसका लागि बजेटकै अभाव रहेको मन्त्री रेग्मीको भनाइ थियो । उनले सबैभन्दा धेरै जनसंख्या आवद्ध रहेको महिला मन्त्रालयलाई ओझेलमा पर्न दिन नहुने पनि बताए ।
मन्त्री रेग्मीले महिलाहरूले संचालनमा ल्याएका उद्योगहरूका लागि ५० प्रतिशत कर छुट गर्न आफू प्रयन्नशील रहेको पनि बताए । त्यस अवसरमा उनले गरिबीका कारण महिला तथा बालबालिकाहरूको बेचबिखन चुनौतीका रूपमा रहेको स्पष्ट पार्दै त्यसको न्यूनीकरणका लागि जनचेतनाको अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताए ।