बिमाप्रतिको विश्वसनीयता बढाउने काम गर्न निर्देशन

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाप्रतिको विश्वसनीयता बढाउने काम गर्न निर्देशन दिएका छन् ।
बिमा समितिले नेपालगञ्जमा गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बिमा गरेर आर्थिक जोखिम लिने काम बिमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।
अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका वर्गसम्म बिमाको पहुँच नपुगेकाले लघुबिमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीव, विपन्न र पिछडिएका वर्गले आफ्नो क्षमता र चाहना अनुसार बिमा गर्न पाउनुपर्ने बताए । उनले कोरोना बिमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी सुरु हुने विस्वास व्यक्त गरे ।
अध्यक्ष सिलवालले बिमा कम्पनीहरुको विद्यमान पुँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको बताए । उनले बिमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयमा दाबी भुक्तानीसहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बिमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई सचेत गराइएको बताए ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बिमा कम्पनीहरु वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा सानोतिनो दावी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बिमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरुमा कर्मचारीको अभाव भएको, विपन्न, गरीव र पिछडिएका वर्गको क्षमता र आवश्यकता अनुसारको बिमालेख नभएको गुनासो गरेका थिए । उनीहरुले स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरुमा उपकरणको अभाव भएको बताए ।