पर्यटकका लागि सहकारीमार्फत आवास सञ्चालन «

पर्यटकका लागि सहकारीमार्फत आवास सञ्चालन

????????????????????????????????????

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका– ५ स्थित रहेको पर्यटकीय स्थल खोप्रामा पर्यटकका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । समुद्री सतहदेखि ३६१० मिटर उचाइमा अवस्थित खोप्रामा पर्यटक संख्या बढ्दै गएपछि पाउद्वार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो ।
२० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८ कोठा क्षमताको आवास भवन निर्माण गरेको हो । सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालयले गत वर्ष रु १३ लाख बजेट उपलब्ध गराएको र यस वर्ष सहकारीले साढे २८ लाख खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।
वडा अध्यक्ष समेत रहेका तिलिजाका अनुसार, उक्त भवनको जग निर्माण गर्न फ्रान्सेली नागरिकले समेत ६५ लाख रुपैयाँ लगानी गरेका थिए । बढी खर्चिलो भएर फ्रान्सेली नागरिकले बिचैमा भवन निर्माण गर्न छाडेपछि पर्यटन सहकारीले अगुवाई गरेर भवनलाई पूर्णता दिएको जनाएको छ ।
यसअघि पाउद्वार मावि र हिमाञ्चल मावि सञ्चालनका लागि खोप्रा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई दुई वर्षदेखि भने पर्यटन सहकारी मातहत ल्याइएको छ । पर्यटनको लाभ समुदायमा पुर्‍याउन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणा अनुसार नेपालमै पहिलो पटक सहकारीमार्फत होटल सञ्चालनमा ल्याइएको हो ।
खोप्रालेक समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गसमेत पुनकै नेतृत्वमा सञ्चालनमा ल्याइएको थियो । खोप्राको होटललाई हिमाली क्षेत्रमा समेत धुँवारहित बनाउने अवधारणा अनुसार अघि बढाइएको छ । पाउद्वार पर्यटन सहकारीमा १५० जना बढी सेयर सदस्य आवद्ध भएका छन् भने प्रति सेयर सदस्यहरुले २५ हजारदेखि ३ लाखसम्म लगानी गरेका छन् ।
सहकारीको अहिले ९१ लाख सेयर पुँजी मौज्दात रहेको छ । सहकारीले तीन जना कर्मचारी नियुक्त गरि नियमित रुपमा खोप्रामा होटल सञ्चालन गरिरहेको छ । सिजनको समयमा पर्यटकको चाप बढी हुने गरेको होटलका कर्मचारी आदेश तिलिजाले बताए । खोप्रा डाँडाबाट अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जा, चुरेनलगायतका दर्जन बढी हिमालसँगै, बन्यजन्तु, चौरी र भेडाबाख्रा गोठको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्