Logo

गिरीको निधनले समाजवादी आन्दोलनलाई अपूरणीय क्षति: प्रम

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिंगो पार्टी पंक्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा बिहीबार कांग्रेस केन्द्रीय कार्यसमिति एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले संयुक्त रुपमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उनले गिरीको विचार र उनका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समाजवादी मात्रै नभई दार्शनिक व्यक्तित्व भएको उल्लेख गर्दै उनले गिरीले लेखेका कृति र विचारलाई अनुसरण गर्न सकेका खण्डमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे । “गिरी विद्धान व्यक्तित्व हुनुहुन्थ्यो, उहाँलाई थाहा नभएको विषय नै हुँदैनथ्यो । बिपी कोइरालापछि गिरी नै हो प्रजातान्त्रिक समाजवादप्रति गहिरो ज्ञान भएको व्यक्ति हो । उहाँको विषयमा जति वर्णन गरे पनि अपुरो हुन्छ,” प्रधानमन्त्री देउवाले भने । गिरीले आफूलाई भारतका धेरै समाजवादी चिन्तकसँग परिचित गराएको प्रधानमन्त्री देउवाले स्मरण गरे ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट देशले ठूलो प्रजातान्त्रिक समाजवादका विचारक गुमाएको बताए । सत्तालाई कहिल्यै राजनीतिक स्वार्थका रुपमा नलिने गिरी आफू सत्तामा नरहे पनि देशमा सुशासन, नवनिर्माण र उन्नतिमा गहिरो चिन्तन राख्ने व्यक्ति भएको उनले उल्लेख गरे ।
महामन्त्री गगनकुमार थापाले गिरीको निधनले पार्टी तथा देशलाई अपूरणीय क्षति पुगेको भन्दै उनको दर्शन, विचारलाई जीवन्त राख्न विशेष ध्यान दिनुपर्ने औँल्याए । उनले भने, “गिरी चिन्तित हुनुहुन्थ्यो । प्रजातन्त्र फगत औपचारिकता मात्र भयो । राजनीतिक दल रुपान्तरणका माध्यम भएनन्, सत्ता प्राप्तिका औजार मात्र भए । राजनीतिक दलका कार्यकर्तामा ज्ञानको भोक, परिवर्तनको भोक हुनुपर्नेमा सत्ताको भोकमात्रै भएकामा प्रदीप गिरीको चिन्ता थियो ।”
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गिरीको निधन कांग्रेस पार्टीका लागि मात्र नभई नेपालकै लागि क्षति भएको भन्दै उनको अभावलाई खड्किन नदिन गिरीको विचारलाई अनुसरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कांग्रेसका नेता प्रकाशमान सिंहले गिरीको निधनले राष्ट्रिय राजनीतिलाई नै क्षति पुगेको बताए । गिरीको विचारलाई आत्मसात गरेर अघि बढेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास नेता सिंहले व्यक्त गरे ।
नष्ठावान्, त्यागी नेता, समाजवादी चिन्तक, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्