Logo

हरितालिका तीजको रौनक

हाम्रो देशमा अधिकांश मानिस हिन्दू धर्मावलम्बी भएकाले चाडपर्व नजिकिनेबित्तिकै हामीहरू एकदम खुसी हुने गर्छौं । प्रत्येक चाडपर्वले नेपालीको जीवनमा नयाँ उमङ्ग र प्रेरणा ल्याउने गर्छ, त्यसमाथि नारीहरूको जीवनमा तीजको विशेष महŒव रहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीज पर्ने गर्छ । यस वर्ष भने आज मंगलबारको दिन हरितालिका तीज परेको छ । अटल सौभाग्यको कामना गर्दै हिन्दू नारीहरूले स्नान गरी व्रत बस्ने, भगवान् शिवको पूजा–अर्चना गरी विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै निराहार व्रत बसेर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्रो गरेर मात्र व्रत पूरा गर्ने परम्परा रहेको छ । तीजको दिन रातो पहिरनमा सुन्दर गहनाले सिँगारिएका नारीहरू टोल–छिमेकमा रहेका शिवमन्दिरमा गएर शिव–पार्वतीको पूजा–आराधना गर्दै नाचगान गरी मनको वह पोख्ने गर्छन् । आजभोलि महिना दिनअघिदेखि महिलाहरू आफन्तजन, साथीहरूकोमा रातो सारी र सोह्र शृंगार गरी दर खान जाने, नाचगान गर्ने चलन छ । यसरी निराहार बसी शिव–पार्वतीको पूजा–आराधना गर्नाले विवाहित महिलाको सौभाग्य वृद्धि हुने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको छ ।
तीजको अघिल्लो दिन दर खाएर सुरुवात गरिएको हरितालिका तीज पर्व पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुने चलन सनातनदेखि चल्दै आएको छ । पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी तीजको व्रत बसेर सफल भएको धार्मिक किंवदन्ती रहेको छ । त्यसैले उक्त दिन प्रत्येक शिवालयहरूमा भक्तजनहरूको अत्यधिक भीड हुने गर्छ । अझै विशेष रूपमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा अत्यधिक भीड लाग्छ । त्यस दिन मन्दिर परिसरमा प्राथमिक स्वास्थ्य उपचार, पानी, सामान्य चियानास्ताको पनि व्यवस्था गरिएको हुन्छ, किनकि पानी पनि नखाई व्रत बस्दा कतिपय महिला बेहोस तथा अचेत हुने हुनाले यस्तो व्यवस्था गरिएको हुन्छ ।
विवाहित चेली वर्षभरिमा एक दिन भए पनि तीजमा माइत जान पाउने र आफ्ना बाल्यकालका साथीसङ्गीसँग भेटघाट गरी विभिन्न गीत र नृत्यबाट मनोरञ्जन लिने हुनाले चेलीबेटीका लागि यो पर्वको विशेष महŒव रहेको छ । तर, परम्परालाई निरन्तरता दिनुका साथसाथै आफ्नो स्वास्थ्य, समाज र राष्ट्रमा कस्तो प्रभाव पारेको छ त्यो पनि विचार पुर्‍याउन आवश्यक छ । उक्त दिन जताततै सबै रातो सारीमा सिँगारिएका महिलाहरूले नाचगान गरेको देख्न पाइन्छ । त्यसमाथि अहिले महिनौं अघिदेखि दर खाने प्रचलनले गर्दा र सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता एपहरू खोल्नासाथ दर खाएर नाचगान गरेको, कपडालगायत अन्य सामानहरूको बजारीकरण गरिएको तस्बिर र भिडियोहरू प्रशस्तै देख्न पाइन्छ, जुन आर्थिक हिसाबले एकदम राम्रो हो । तर, यसरी मनाइने तीजले कतै तीजको मौलिकतालाई असर पारिराखेको छ कि जस्तो लाग्छ । किनकि पहिले–पहिले तीजको अवसरमा लोकगीत गाएर आफ्ना वर्षभरिका पीडा पोख्ने गरिन्थ्यो । दर खाने दिन मात्र आफ्नो क्षमताअनुसार पकवानहरू पकाएर चेलीबेटीलाई बोलाएर खुवाउने गरिन्थ्योे । तर, अहिले महिनांै अघिदेखि तीजको आडमा जमघट गर्ने, सामग्रीहरू खरिद गर्ने, पार्टी गर्ने, नाचगानको नाममा होहल्ला गर्ने गर्छन्, जुन एक प्रकारको विकृति र देखासिकी गर्ने प्रवृत्ति हो । किनकि सबैको पहुँचमा यस्ता सुखसुविधा नहुन पनि सक्छ । सबैको आर्थिक अवस्था त्यत्तिको बलियो नहुन सक्छ । त्यतिबेला मानिसहरूलाई कस्तो असर पर्ला भनेर हामीले विचार पुर्‍याउनुपर्छ ।
कतै खाद्यान्न फाल्ने र कोही भोको पेट सुत्नु भनेको हामी सबैका लागि लज्जास्पद कुरा हो । त्यसैले अर्काको देखासिकी नगरौं । किनकि कोरोनाले हाम्रो देशको आर्थिक अवस्थालाई यति धेरै असर पारेको छ कि अहिले जताततै तरलताको अभाव छ । त्यसैले देखासिकीको आडमा अनावश्यक खर्च गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्