Logo

चार करोडको अदुवा बिक्री

रुकुम-रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट मात्र यो वर्ष ४ करोड रूपैयाँभन्दा बढीको अदुवा निर्यात भएको छ । जिल्लामा सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा अदुवा उत्पादन हुने गर्दछ । गाउँपालिकाका विभिन्न ठाउँबाट संकलन गरिएको २ हजार ८ सय ६५ क्विन्टल अदुवा अहिलेसम्म जिल्ला बाहिर निर्यात गरिएको स्थानीय व्यवसायी टेकबहादुर ओलीले बताए । यस वर्ष किसानले उत्पादन गरेको अदुवा व्यवसायीले प्रतिक्विन्टल १४ हजार ५ सय रूपैयाँका दरले खरिद गरेर बाहिर निर्यात गरेको उनले जनाए । व्यवसायीले खरिद गर्दै आएको यो मूल्य गतवर्षभन्दा झन्डै तीन गुणा बढी हो ।
गत वर्ष प्रतिक्विन्टल ३ हजार ५ सय रूपैयाँमा अदुवा बिक्री भएको थियो । मूल्य बढी भएकाले आम्दानी पनि राम्रो भएको किसानको भनाइ छ । उच्च मूल्यमा अदुवा बिक्री भएपछि किसान हर्षित भएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे । हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा तीन क्विन्टल बढी अदुवा उत्पादन गरेका हुन् । उत्पादन भएको अदुवा मध्ये अहिलेसम्म १७ क्विन्टल बिक्री गरिसकेको पुनले बताए । १० क्विन्टल भने आफूले घरमै राखेको उनले जनाए । अर्काे बर्ष बारीमा लगाउन आवश्यक पर्ने बीउका लागि उक्त अदुवा राखेको उनको भनाइ छ । १७ क्विन्टल अदुवा बिक्री गरेर यो वर्ष २ लाख ४६ हजार रूपैयाँ आम्दानी गरेको पुनले जानकारी दिए ।
“गतवर्ष ८० हजार मात्र आम्दानी भएको थियो, तर यो वर्ष अदुवाको मूल्य राम्रो भयो, त्यसैले आम्दानी पनि राम्रै भयो,” उनले भने, “यो वर्ष अहिलेसम्मकै बढी मूल्यमा अदुवा बिक्री गरेका छौं, गत वर्षभन्दा झन्डै तीन गुणा बढीमा बिक्री भयो ।” आफूले प्रत्येक वर्ष अदुवा उत्पादन गर्ने गरे पनि सहज रूपमा बिक्री गर्न भने यो वर्ष मात्र पाएको उनको भनाइ छ । हरेक वर्ष अदुवा बिक्री गर्दा निकै समस्या हुनुका साथै उचित मूल्यसमेत नपाउने समस्या थियो । अदुवा बिक्रीबाट आएको रकमले आफ्नो दैनिक खर्चका साथै छोराछोरीको पढाई खर्च पनि व्यवस्थापन गर्दै आएको उनले बताए ।
सोही गाउँका अर्का किसान गोपाल ओलीले पनि अदुवा उत्पादन गर्दै आएका छन् । उनले पनि यो वर्ष ८ क्विन्टल अदुवा बिक्री गरेर १ लाख ३० हजार रूपैयाँ आम्दानी गरेको बताए । घरमै बसेर राम्रै आम्दानी भएको ओलीको भनाइ छ । अन्य व्यवसायभन्दा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भएपछि आफू अदुवा उत्पादनमा लागेको उनले बताए । कतारमा दुई वर्ष काम गरेर फर्केका ओली पछिल्लो समय अदुवाबाटै वर्सेनि लाखौं आम्दानी गर्ने गरेको बताउँछन् । त्रिवेणी गाउँपालिकाका ओली र पुन मात्र होइन यहाँका प्रायः सबै किसानले हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका छन् ।
मसला बनाउनका लागि यहाँ उत्पादन भएको अदुवाको गुणस्तर बढी भएपछि बजारमा धेरै माग आएको व्यावसायीको भनाइ छ । अहिले काठमाडौं, चितवन, विराटनगर, पोखरा, नेपालगन्ज, दाङलगायतका सहरबाट अदुवाको अत्यधिक माग हुँदै आएको छ । व्यापारीहरू अदुवा खरिद गर्न गाउँगाउँमा नै पुग्ने गरेका छन् । आफूहरूले उत्पादन गरेको अदुवा यस वर्ष भने बारीबाटै सहजरूपमा विक्री भएपछि निकै सहज भएको त्रिवेणी गाउँपालिका–६ का किसान अमर बुढाले बताए । विगतका वर्षहरूमा उत्पादन भएको अदुवा समयमा नै बिक्री नहुँदा सुठो बनाउनुपर्ने बाध्यता भए पनि यो वर्ष भने समस्या नरहेको उनको भनाइ छ । “हाम्रो गाउँमा धेरै अदुवा उत्पादन हुने गर्छ, विगतका वर्षहरूमा उत्पादन भए पनि समयमै बिक्री नहुँदा सुठो बनाएर बिक्री गर्नुपरेको थियो,” बुढाले भने, “सुठो बनाएर बेचे पनि उचित मूल्य नजाँदा खासै फाइदा हुँदैन्थ्यो, यो वर्ष भने व्यापारी घरमै आएका छन् ।” यहाँका प्रायः हरेक किसानले अदुवा खेती गर्छन् भने प्रमुख आयस्रोतका रूपमा पनि अदुवालाई नै लिने गरिएको छ ।
किसानको प्रमुख आयस्रोतका रूपमा रहेको अदुवाको उत्पादनलाई बढाउनका लागि स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइएको छ । त्रिवेणी गाउँपालिकाले किसानले उत्पादन गर्ने अदुवालाई सहज रूपमा बिक्री गर्न यहीँ मसला उद्योग सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले जानकारी दिए । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा मसला उद्योग स्थापनाको काम सुरु भएको उनले बताए । गाउँपालिकामा कति अदुवा उत्पादन हुन्छ भनेर यकिन जानकारीका लागि तथ्यांकसमेत संकलनको काम सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्