Logo

सुनकोसी गाउँपालिकाका होटलमा करोडौं लगानी

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मूलकोट यात्रुको भोक र प्यास मेटाउने गन्तव्य बनेको छ । यो राजमार्ग हुँदै आवत–जावत गर्ने सवारी साधन खाना, खाजा खानलाई यहाँ आएर रोकिन्छन् ।
दुई वर्ष पहिलेसम्म एकादुई होटल खुलेको यस स्थानमा अहिले भने ४० भन्दा बढी सुविधा सम्पन्न होटल तथा रेस्टुराँहरू खुलेका छन् । यस क्षेत्रमा पछिल्लो समय ठूला–ठूला लगानीका रिसोर्टहरू पनि खुलेका छन् । १६–१६ करोडको लागतमा दुइटा रिसोर्ट सञ्चालनको तयारीमा छ भने १० करोड लगानी रहेको ताज रिसोर्ट सञ्चालनमा आइसकेको छ ।
सुनकोसी नदीमा ¥याफ्टिङको समेत व्यवस्था गरेको यस रिसोर्टमा दैनिक २ सयभन्दा बढी ग्राहक आउने गरेको होटल व्यवसायी संघ मूलकोटका अध्यक्ष तथा सञ्चालक मनोज श्रेष्ठले बताए । उनले भने, “स्तरीय होटल खोल्ने क्रम धमाधम बढेको छ । होटलहरूले ग्राहकको बढ्दो चापलाई थेग्न नसकेपछि राम्रा होटल खोल्ने क्रम बढेको हो ।”
दैनिक सयौं सवारी यही बाटो हुँदै हुँइकिने भएकाले यहाँका होटलहरूमा ग्राहकको चाप पनि थेगिनसक्नु छ । “गाडीहरू एकैचोटि आइपुग्छन् । ग्राहकले भनेकै बेलामा खाना र खाजा पु¥याउनै सकिन्न ।” स्थानीय व्यवसायी निर्मला श्रेष्ठले भनिन्, “हामीलाई कहिल्यै फुर्सदै हुँदैन । कमाई पनि राम्रो छ । व्यवसायप्रति सन्तुष्ट छु ।”
होटल व्यवसायी संघ सिन्धुलीका अनुसार मूलकोटमा अहिले उत्साहजनरुपमा सुविधा सम्पन्न होटलहरू खुलेका छन् । यहाँ खुलेका होटलमा कम्तीमा ८ लाखदेखि १० करोडसम्मको लगानी रहेको महासचिव सीताराम पहाडीले बताए । उनले भने, “यही बाटो हुँदै दैनिक सयौं सवारी आऊजाऊ गर्छन् । त्यसैले पनि होटल व्यवसायको सम्भावना राम्रो छ । काठमाडौंमा राम्रा र ठूला होटल चलाएका व्यवसायीहरूले यहाँ धेरै लगानी गरेका छन् ।”
होटल व्यवसाय फस्टाएसँगै यहाँ अन्य जिल्लाका व्यवसायीहरूले पनि होटलमा लगानी गरेका छन् । काठमाडौं र तराईलाई छोटो दूरीमा जोड्ने बीपी राजमार्ग सञ्चालनमा आएपछि होटल व्यवसाय गर्नेहरूको संख्या बढेको महासचिव पहाडीले बताए ।
राजमार्गका कारण मूलकोटलगायत राजगार्ग आसपासका अन्य क्षेत्रमा पनि होटल व्यवसाय फस्टाउँदै गएको छ । राजगार्गअन्तर्गत सिन्धुली सदरमुकाम, माझिटार, भिमान, ढुंग्रेवास, भद्रकाली, खन्यार्खक र खुर्काेटलगायतका क्षेत्रमा पनि होटल खुल्ने क्रम बढेको छ ।
जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेकाले व्यवसायीहरूले होटलमा लगानी र क्षमतासमेत बढाएको पहाडीले बताए ।
कमलामाई नगरपालिका नगरकार्यपालिकाको उद्योग विकास शाखाकाअनुसार २०७६ वैशाख ३० सम्म ४ सय २४ वटा होटल दर्ता भएका छन् जसमा २ वटा ठूला लगानीका रिसोर्ट छन् । ती होटलको आम्दानी २५ करोड २५ लाख १ हजार ९ सय रुपैयाँ रहेको शाखाका कम्प्युटर अप्रेटर पवित्रा गुरागाईंले बताइन् ।
“ठूला लगानीका रिसोर्ट पनि खुल्ने क्रममा छन् । अहिले धेरै लगानी भनेको १० करोडसम्मका छन् । गुरागाईंले भनिन्, “राजमार्ग सञ्चालनमा आएको वर्षहरूमा उत्साहजनक रूपमा होटल खुलेका थिए । तर, अहिले भने साना लगानीका होटलहरू त्यति छैनन् ।”
हाल सञ्चालित होटलहरूमा १२ सय ६८ जनाले रोजगारी पाएका छन् । जसमा पुरुष ८ सय ५६ महिला ४ सय १२ छन् । होटल सञ्चलकमा महिलाको तुलनामा पुरुषहरूको संख्या धेरै रहेको शाखाको तथ्यांकले देखाएको छ । हाल दर्ता भएका होटलमा महिलाले सञ्चालन गरेका १ सय ६ होटल छन् भने पुरुषले चलाएका होटलको संख्या ३ सय १८ रहेको छ ।
बीपी राजमार्गका होटलमा स्टिकर
राजमार्गमा सञ्चालनमा रहेका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँस्न सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले ५० वटा सूचकहरूका आधारमा स्टिकर टाँस गर्न सुरु गरेको हो ।
१०० अंकमा होटलको मूल्यांकन गरी प्राप्त अंकका आधारमा होटलको स्तर निर्धारण गरिनेछ । १०० अंकमा हुने मूल्यांकनमा कुल अंकको ९० भन्दा माथि अंक प्राप्त गर्ने होटलले अतिउत्तम लेखिएको तीनवटा स्टार भएको हरियो रंगको स्टिकर पाउने, ८० देखि ८९ अंक प्राप्त गर्ने होटलले पनि हरियो रंगको दुइटा स्टार भएको उत्तम स्टिकर पाउने, ६४ देखि ७९ सम्म अंक प्राप्त गर्ने होटलले एउटा मात्र स्टार भएको हरियो रंगको सन्तोषजनक लेखिएको स्टिकर पाउनेछन, र ५० देखि ६४ सम्म अंक प्राप्त गर्ने होटलले पहेंलो रंगको स्टिकर पाउने प्रावधान छ । त्योभन्दा कम नम्बर ल्याउने होटल कार्यालयले बन्द गर्नुपर्ने हुन्छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ को चियाबारीमा २१ वटा होटलहरूमा भने पहेंलो स्टिकर टाँसिसकेको कार्यालयले जनाएको छ ।

 

कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्