Logo

डेंगु रोगबाट बच्ने एकमात्र उपाय हो

एडिस जाति (एजिप्टाई र अल्बोपिक्टस) का पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । हेर्दा सानो देखिए पनि यो लामखुट्टेले ठूलाठूला रोगको संक्रमण गराउन सक्छ । यसले डेंगुका साथै चिकनगुनिया, जिका भाइरसलगायतका रोगको संक्रमण पनि गराउन सक्छ । यो लामखुट्टे फोहोरमा बस्छ । स्थिर र सफा पानीमा अन्डा पार्छ । गमला, एसीमा समेत पानी जमेको छ भने अन्डा पार्छ । एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि प्रोटिन आवश्यक पर्छ । मानिसको रगतमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ । त्यसै कारण पोथी लामखुट्टेले मात्र मान्छेको रगत चुस्छ । भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।
बढ्दो सहरीकरणसँगै प्लास्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगी संक्रमण बढ्नुको एक कारक मानिन्छ । प्रयोग गरेर फालिएका प्लास्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्छ । अन्डाबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । डेङ्गी संक्रमित लामखुट्टेको जीवनचक्र चार साताको हुन्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप मानिसहरू सिकिस्त हुने गर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले रोग सार्छ । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि मात्र यो रोग एकबाट अर्कोमा सर्छ । मानिसबाट मानिसमा सर्दैन । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरू लामखुट्टेमा सर्छन् । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगुका लक्षणहरू देखिन सक्छ ।
डेंगुबाट संक्रमित व्यक्तिको रगत चुसेको आठदेखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ । एकपटक संक्रमित भएपछि जीवनभर संक्रमित भइरहन्छ । सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।
डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १ सय २ डिग्रीदेखि १ सय ३ डिग्रीसम्मको हुन्छ । डेंगुको लक्षण असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । डेंगु एक किसिमको भाइरल ज्वरो भएकाले खासमा कुनै औषधि उपचार छैन । खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । बिरामीको अवस्था तुरुन्तै जटिल हुन गई मृत्युहरूसमेत हुन सक्ने भएकाले शंकास्पद बिरामी वा आफन्तले तुरुन्तै नजिकै हुने स्वास्थ्य संस्थामा गई उचित परामर्श लिनु जरुरी देखिन्छ । रगत बग्ने र ग्यास्ट्राइटिस गराउने जोखिम हुने भएकाले विशेष गरेर डेंगु देखिएको क्षेत्रमा ज्वरो कम गर्न सिटामोलको मात्रै प्रयोग गर्र्नेे । शरीरमा पानीको मात्रा कम हुन नदिने, झोलिलो पदार्थ प्रशस्तै खाने । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनु हुँदैन । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्