बाँदर आतंकले कृषकलाई सास्ती «

बाँदर आतंकले कृषकलाई सास्ती

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा २ साउनमा स्थानीय टंक खनालको मृत्यु भयो । बारीमा पसेको बाँदर धपाउने क्रममा गम्भीर घाइते खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
छत्रदेवमा मात्रै दुई वर्षयता बाँदर धपाउन खोज्दा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । यहाँ एक दशकदेखि बाँदरको ज्यादती बढेको छ । बाँदरबाट बाली जोगाएर घर भित्र्याउन किसानलाई चुनौती छ । बाँदरको आतंकले खेतीपाती स्याहार्न कृषकलाई चुनौती छ । रैथाने मकैबालीको विकल्पमा अन्य खेतीको विस्तार हुन नसक्दा कृषक मकैखेतीमै आश्रित छन् । बिहानै उठेर रातिसम्म बारीमै कृषकले चौकीदारी गर्नुपर्छ ।
पाणिनी–२ पोखराथोककी ८१ वर्षीय उमा विश्वकर्मा बिहानै उठेर ताउला, गाग्री, थाल बजाउँछिन् । घरमा एक्ली रहेकी विश्वकर्मालाई बादर हेर्न कठिनाइ छ । “गरिब परिवारलाई छाक टार्नै मुस्किल छ, उब्जनी भएको मकैखेती बाँदरले खाइदिन्छ,” कृषक तेजबहादुर विक बताउँछन् ।
जिल्लाका व्यावसायिक कृषक मकैखेती छोडेर विस्तारै अदुवा, कोदो, अकबरे खुसार्नी, भट्मास लगाउन थाले पनि परम्परागत खेती कायमै छ । जिल्लाभरमा २ प्रतिशत कृषकले अन्य खेती सुरु गरे पनि परम्परागत कृषि मकैखेती कायमै रहेको कृषक हिमलाल पौडेल बताउँछन् ।
भित्र्याउने बेलाको मकैखेती बाँदरले सखाप पारेपछि कृषकहरू चिन्तित छन् । बिहान उठ्न नपाउँदै बारीमा बाँदर छपक्क भइसक्छन्, “बाँदरको बासस्थान नै मकैबारी नजिकको जंगलमा हुन्छ,” पाणिनी–५ मैदानका टोपलाल गैरेले भने, “लखेटेरै दिन बितिरहेको छ, आँखा झिमिक्क नपारी दिनभर बारीको डोरामा बस्नुपर्छ । गाउँमा जनसंख्या पनि कम छ, १/२ जनाको परिवारलाई पालो गरेर मकै हेरे पनि धेरै सास्ती भइरहेको छ ।”
अर्घाखाँचीका कृषकको बारीमा दिउँसो बाँदर र राति बँदेल पसेर हैरान छ, बँदेलले पनि अन्नबालीमा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्