नवजात शिशुलाई स्तनपान गराउनुको महत्व «

नवजात शिशुलाई स्तनपान गराउनुको महत्व

आमा शब्द आफैंमा महान् र सर्वश्रेष्ठ छ । जीवनमा जस्तोसुकै उतारचढाव आए पनि आमाको स्थान कसैले लिन सक्दैन । पैसाले सुखसुविधा खरिद गर्न त सकिएला तर आमाको माया भने अवश्य किन्न पाइँदैन । त्यसैले भनिन्छ, संसारमा सबैको ऋण तिर्न हामी सक्छौं होला तर आमाले पिलाउनुभएको दूधको भारा हामीले कहिल्यै चुकाउन सक्दैनौं । किनकि आमा नै हुन्, जसले हामीलाई अनेकौं दु:खकष्ट सहेर यस धर्तीमा लेराउनुहुन्छ । आफू भोकै बसेर भए पनि नवजात शिशुलाई आफ्नो पोसिलो दूध खुवाउने गर्छिन् । त्यसैले होला, ‘स्तनपान अमृत समान’ भन्ने भनाइ निकै प्रचलित छ । तर, अहिलेको परिप्रेक्ष्यमा समयको व्यस्तता, विलासिता, अहं, स्वार्थजस्ता अनेकौं कारणवश बाध्य भएर आमाहरू आफ्नो सन्तानलाई आमाको दूधबाहेक अन्य प्रकारको तयारी दूध तथा गाईभैंसीको दूध खुवाउन उद्यत हुन्छन् ।
हाम्रो शरीरको प्रत्येक अंगको भिन्दाभिन्दै महत्व छ । त्यसैले आमा र शिशुको जीवनमा स्तनपान गर्नुको विशेष महत्व छ, जसलाई प्रकृतिको देन भनांै वा बनावट, हरेक स्तनधारीको दूध आफ्नो बच्चाको लागि अन्य कुनै जीवको भन्दा बढी पोसिल र लाभदायक हुने गर्छ । तर, अहिलेको समयमा बजारमा धेरै थरीको खानेकुराहरू पाइनुका साथै बच्चालाई स्तनपान गराएमा शरिर बिग्रन्छ, कमजोर भइन्छ, सौन्दर्यमा कमी आउँछ भन्ने जस्तो कुण्ठित धारणाको कारण पनि धेरै महिला शिशुलाई स्तनपान गराउन चाहँदैनन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ । किनकि आमाको दूधमा जन्मेदेखि ६ महिना उमरेसम्मका शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वको मिश्रण उपयुक्त रूपमा रहेको हुन्छ । आमाको दूधमा संक्रमण, एलर्जी वा अन्य कुनै पनि रोगको जीवाणुसँग लड्ने तत्व (एन्टिबडी) बढी रहेको हुन्छ । यसै कारण स्तनपान गरेका शिशुहरू नपाएका शिशुको तुलनामा कमै मात्रामा बिरामी हुन्छन् । तसर्थ, आफ्ना बच्चालाई दूध खुवाउँदा आमाको स्वाथ्यमा नकारात्मक नभई सकारात्मक प्रभाव पर्छ । त्यसैले शिशुलाई स्तनपान गराउने आमाले कम्तीमा दिनको दुई पटक पेटभरि पोसिलो खाना खानुपर्छ ।
आमाको दूध खाने शिशु गाई, भैँसी, बाख्रा वा बट्टाको दूध खाने शिशुभन्दा बढी बलिया हुन्छन् । आमाको दूध शिशुले सजिलै पचाउन सक्छन् । शिशुको शरीरलाई उपयुक्त हुने पोषण तथा झोल तत्व आमाको दूधमा मात्र हुन्छ । आमाको दूधले एन्टिबायोटिकको काम गर्छ । यस्तो शक्ति अन्य दूधमा हुँदैन । शिशुको उमेर ६ महिना पुगेपछि आमाको दूधको साथै अन्य खाना पनि खुवाउन सुरु गर्नुपर्छ । तर, शिशुको उमेर दुई वर्ष नपुगेसम्म आमाको दूध छुटाउनु हुन्न । स्तनपान नियमित गरेका शिशुहरू अन्य शिशुको तुलनामा तीक्ष्ण बुद्धिका हुन्छन् । शिशुलाई आमाको पहेँलो बिगौती दूध खुवाउनु अति आवश्यक हुन्छ । बिगौती दूध अत्यन्त पोसिलो मात्र नभई यसमा रोगसँग लड्न चाहिने विभिन्न तत्व प्रशस्त मात्रामा हुन्छ । त्यसैले जन्मिएको ६ महिनासम्म शिशुलाई आमाको बाहेक अन्य कुनै खानेकुरा खुवाउन हुँदैन । किनकि स्तनपान गरिरहेका शिशुलाई झाडापखाला तथा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।
आमाको दूध खाइरहेका शिशुलाई आमाको दूधबाहेक पानी पनि खुवाउन हुँदैन । साथै कम तौल भएको शिशुले लगातार आमाको दूध चुस्न नसक्ने हुनाले त्यस्ता शिशुलाई छोटो–छोटो समयमा दूध चुसाउनुपर्छ । केही समययता कार्यालय तथा अन्य कार्यस्थलमा शिशुलाई स्तनपान गराउने कक्ष राखिएको पाइन्छ । यो सकारात्मक कदम हो । सबै कार्यकक्षमा यसरी स्तनपान कक्ष हुँदैन । नेपालमा स्तनपान गराउने महिलाको प्रतिशत पछिल्लो समयमा घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । केही वर्षयता महिलाहरू घरभित्रको कामकाजमा मात्र सीमित नभई रोजगारीका लागि घरबाहिर निस्कन थालेका कारण यो संख्यामा कमी आउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्