गोरखाका उत्कृष्ट वन समूह पुरस्कृत «

गोरखाका उत्कृष्ट वन समूह पुरस्कृत

गोरखाका उत्कृष्ट ६ वटा वन समूह पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्षभर भएको कार्यसम्पादनका आधारमा सामुदायिक वन र कबुलियती वनतर्फ उत्कृष्ट तीन तीनवटा समूहलाई पुरस्कृत गरेकोे हो । सामुदायिक वन दिवसको अवसरमा मंगलबार विरिन्चोक सामुदायिक वन समूहमा भएको कार्यक्रममा वन समूहलाई पुरस्कृत गरिएको हो ।
जिल्लाभर ५ सय १७ वटा सामुदायिक वन र २ सय ८३ कबुलियती वन समूह रहेका छन् । त्यसमध्ये गत आर्थिक वर्षको कार्यसम्पादनका आधारमा गोरखा नगरपालिका–१० को विरिन्चोक सामुदायिक वन समूह पहिलो भएको छ । सो समूहले सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
वन समूहको सक्रियतामा पर्यापर्यटनको क्षेत्रमा भएका कामलगायत अन्य सूचकलाई आधार मानी सामुदायिकतर्फ सो वन समूह उत्कृष्ट भएको डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले जानकारी दिए । यस्तै सामुदायिक वनतर्फ भीमसेन थापा गाउँपालिका–१ को मण्डली सामुदायिक वन समूह दोस्रो हुँदै पाँच हजार पाँच सय र तेस्रो भएको गण्डकी गाउँपालिका–३ को दुमदुमपाताल सामुदायिक वन समूहले तीन हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
कबुलियती वन समूहतर्फ भीमसेन थापा–१ को बिमिरेखाल्डो वन समूह पहिलो, सहिद लखन–३ को कल्लेरी वन समूह दोस्रो र गण्डकी–१ को बजरेपाखा कबुलियती वन समूह तेस्रो भएको छ । कबुलियतीतर्फका उत्कृष्ट तीन वन समूहले पनि क्रमश: सात हजार पाँच सय, पाँच हजार पाँच सय र तीन हजार पाँच सय रुपैयाँ पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेका हुन् ।
वन समूहको आन्तरिक सुशासन, नियमित बैठक र साधारणसभा भए नभएको, वार्षिक कार्ययोजना कार्यान्वयनको अवस्था, जीविकोपार्जनमा पुर्‍याएको सहयोग, वन संरक्षण र समुदायको सहभागितालगायत सूचकका आधारमा उत्कृष्ट वन समूह छनोट गरिएको डिभिजन वन अधिकृत श्रेष्ठले जानकारी दिए । हरेक वर्ष २५ साउनमा सामुदायिक वन दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्