बाढीपहिरोको बढ्दो जोखिम र बच्ने उपाय «

बाढीपहिरोको बढ्दो जोखिम र बच्ने उपाय

हाम्रो देशमा लगभग ६ हजार खोलानाला र ८ सय ६६ जति पहाडहरू अवस्थित छन् । त्यसैले हाम्रो देश नेपाललाई विश्वको जलस्रोतको दोस्रो धनी देशका रूपमा चिनिन्छ भने यहाँ अवस्थित हिमाल, पहाड, प्राकृतिक सम्पदा र यहाँको सौन्दर्यताको बयान जति नै गरे पनि कम होला । त्यसैले यहाँका मनमोहक दृश्यहरूको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । तर, बर्खायाममा यही सौन्दर्यता र खोलामा आएको बाढीपहिरोको डरलाग्दो स्वरूप देख्दा जोकोहीको आङ नै सिरिङ्ग हुन्छ ।
हरेक वर्ष बर्सातको समयमा बाढी, पहिरो र डुबानका कारण ठूलै मात्रामा जनधनको क्षति हुनुका साथै जनजीवन अस्तव्यस्त बनाउने गर्छ । विशेष गरी नदीतटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्ने गरेको छ । बाढीले तराईका सयौँ घर डुबानमा पार्छ भने पहाडी क्षेत्रमा पहिरोका कारण धेरैले ज्यान गुमाउने र बेपत्ता हुने गर्छन् । हामीलाई अरूको पीडा देख्दा त मन यति धेरै विह्वल हुन्छ भने जसले यस्तो पीडा भोग्नुपरेको छ उहाँहरूलाई कस्तो हुन्छ होला भनेर हामी अनुमान पनि लगाउन सक्दैनांै । कैयौं मानिस घरबारविहीन हुने गर्छन् । आफ्नै अगाडि सर्वस्व गुमाउँदा पनि सहनेबाहेक अरू विकल्प केही हुँदैन । यदि भाग्यवश बाँचिहाल्यौं भने पनि आफ्नो दैनिकी कसरी टार्ने भन्ने पिरलो हुन्छ । त्यसैले जबसम्म मनसुन अर्थात् पानी पर्न कम हुँदैन तबसम्म यस्ता समस्याहरू आइराख्छन् । यति बेला सान्त्वना दिनेभन्दा पनि अगाडि आएर सहयोगी हात बढाउने मानिसहरूको आवश्यकता पर्छ । त्यसैले सरकारले यस्ता विस्थापित परिवार तथा सदस्यहरूलाई समयमा नै पुनस्र्थापित गर्नुपर्छ ।
यस्तो जोखिमको व्यवस्थापन र विस्थापनमा सरकारी पहलको मुख्य भूमिका हुनुपर्छ । तर, सरकारले बनाएको योजनाको फितलो कार्यान्वयन, कमजोर विकासका पूर्वाधार र सूचना प्रणालीका कारण जनताले सास्ती खेप्नुका साथै वर्षैपिच्छे मानवीय र भौतिक क्षति बेहोर्नुपरिराखेको छ । यस्ता प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि यस्ता जोखिमहरूबाट जोगिन भने अवश्य सकिन्छ । त्यसैले नदीतटीय क्षेत्रमा बसोबास गर्न हुन्न । समय–समयमा बाढी पूर्वानुमान शाखाकोे नम्बरमा फोन गरेर मौसमी गतिविधिको अपडेट लिई सतर्कता अपनाउनुपर्छ । सम्भव भएसम्म त्यस्ता सूचना नियमित हेर्ने र सुन्ने गर्नुपर्छ । साथै, आफूले पाएको सूचनाको प्रभावकारी रूपमा प्रवाह गर्नुपर्छ ।
पहिरोले घर बगाउँदा भौतिकसँगै मानवीय क्षति पनि हुने भएकाले चौबीसै घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नु हुँदैन र जाग्राम बस्ने गर्नुपर्छ । पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने सम्भावना धेरै हुँदा त्यस्ता ठाउँको पहिचान गरी सतर्कता अपनाई त्यहाँ आवातजावत कम गर्नुपर्छ । गाउँमा बाढी आएको समयमा होचो भूभागमा जानु हुँदैन । पहाडका धेरै स्थानमा प्राय:जसो रातिको समयमा पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समूहमा बस्नुपर्छ । घरहरू भत्किएर जनधनको क्षति हुने सम्भावना भएकाले घरबाहिर निस्किएर बस्नुपर्छ । सकभर विपत्को बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । सम्भव भएसम्म सञ्चारमाध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बस्नुपर्छ, जसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।
विपद्को समयमा सबै एकजुट भई समस्याको समाधानतर्फ लाग्नुपर्छ, जुन एकदमै अत्यावश्यक छ । साथै ठाउँ–ठाउँमा सुरक्षित स्थान निर्माण गरिनुपर्छ, जहाँ खाद्यान्न, सफा पानी र बसोबासको पर्याप्त सुविधा गरिएको हुनुपर्छ, राज्यको सबै संरचना उत्तिकै सबल भइदिएको भए जनधनको क्षति निकै कम हुने थियो होला, तर ठाउँठाउँमा हुने चुहावटलाई आखिर कसले रोक्न सक्छ र ?

प्रतिक्रिया दिनुहोस्