Logo

सबै बालबालिकाका लागि खोप

सिंगो विश्वका लागि नै साझा समस्या बन्न पुगेको कोभिड–१९ का विभिन्न भेरियन्ट देखा परेका कारण विश्व समुदाय प्रताडित बन्न पुगेको छ । यसले विश्वभरि नै लाखौँको ज्यान लिइसकेको छ । त्यसैले आजको आवश्यकता नै खोपजस्तो निरोधात्मक उपायमा पहुँच बढाएर कोभिडको जोखिमबाट मुक्त गराउनु हो । बालबालिकाबाहेक अन्य उमेर समूहका व्यक्तिले कोभिडको खोप लिइसकेका छन् । बाँकी रहेका बालबालिकाहरूलाई पनि यही असार ९ गतेबाट खोप अभियान देशैभर सञ्चालन भइसकेको छ । सरकारले पाँच वर्षदेखि १२ वर्षमुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उक्त उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप सञ्चालन गरिनेछ । जुन कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा उपलब्ध भएको हो ।
कोभिड भाइरसयुक्त जनसङ्ख्याको जति धेरै प्रसार भयो त्यति नै नयाँ भेरियन्टहरू देखिने हुँदा त्यसबाट थप चुनौती आउने र उपलब्ध खोपले काम नगर्ने अवस्था सिर्जना हुने हुँदा कोभिडको खोपलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । पछिल्लो समयमा कोरोना भाइरस म्युटेसन भएर त्यसका विभिन्न प्रकारका भेरियन्टहरू देखिएका र म्युटेट भएर आएका त्यस्ता भाइरस अघिल्ला भेरियन्टभन्दा बढी घातक हुने अध्ययनले देखाएकोले त्यसको नियन्त्रणका लागि खोप जतिसक्दो चाँडो बढीभन्दा बढी जनसङ्ख्यामा उपलब्ध गराउनु अबको प्रमुख आवश्यकता हो भन्ने कुरालाई मध्यनजर गरेर नै सरकारले सबै बालबालिकाका लागि कोरोनाविरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरियो । जसअन्तर्गत प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा बाग्मती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर, गण्डकी प्रदेशमा कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डँडेलधुरा जिल्ला रहेका छन् । यसैगरी सोही समूहका बालबालिकालाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरियो । त्यस्तै, सरकारले बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने जनाएको छ । ती सबै बालबालिकालाई खोप लगाउन सरकारले विभिन्न विद्यालय, नजिकको स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।
कोभिड–१९ विरुद्धको खोपले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाई गम्भीर संक्रमण हुनबाट बचाउने भएका कारण खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढाइएको र नेपालमा प्रयोग गर्न औषधि व्यवस्था विभागले अनुमति दिएको छ । बालबालिकामा प्रयोग गरिने कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप अन्य कोभिड खोपजस्तै सुरक्षित रहेको छ । बालबालिकाहरूलाई लगाइन कोरोनाविरुद्धको फाइजर बोयएनटेक खोप ९१ प्रतिशत सुरक्षित र प्रभावकारी भएकाले अध्ययनहरूले देखाएको छ । कोरोनाविरुद्धको खोप लगाएका १० जनामध्ये सरदर १ जनामा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने हुन्छ । यस्तै, खोप लगाइसकेपछि सामान्यतया हुने १ सय जनामध्ये एक जनामा वाकवाकी लाग्ने, वान्ता लाग्ने, सुई लगाएको रातो ठाउँमा रातो हुने हुन्छ । १ हजार जनाले खोप लगाउँदा एक जनामा कम मात्रामा शरीर चिलाउने, बिमिरा आउने, डाबर आउने, आलस्य महसुस हुने, सुई लगाएको ठाउँमा चिलाउने हुन सक्छ । त्यसैले बालबालिकाका अभिभावकले नडराइ ढुक्कसँग खोप लगाए हुन्छ ।
चिकित्सकका अनुसार पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेरकाले पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएका, गम्भीर बिरामी भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचारमा बस्नुभएका बिरामीले यो खोप लगाउन मिल्दैन । तर इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचार लिएको ९० दिनपछि यो खोप लगाउन मिल्ने चिकित्सकको धारणा रहेको छ । त्यस्तै, कोभिड संक्रमण भएकाहरूले पनि ३० दिनसम्म खोप लगाउन मिल्दैन ।
देशमा विद्यालय तहदेखि विश्वविद्यालय तहका सबै विद्यार्थीलाई खोप व्यवस्थापन गर्न सके शैक्षिक कार्यमा कुनै असर नपर्ने देखिन्छ । त्यसैले सरकारले अविलम्व शैक्षिक क्षेत्रलाई चलायमान बनाउन खोपको पूर्ण रूपमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । देशभरका बालबालिकालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गराउनु नै राज्यको प्रमुख दायित्व मानिन्छ । त्यसैले अबको एकमात्र आवश्यकता भनेको कोही पनि कोरोना खोपबाट वञ्चित नहुनु नै हो । चाहे ती बालबालिका हुन् वा अन्य उमेर समूहका नागरिक ।

प्रतिक्रिया दिनुहोस्