खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य «

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।
पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।
सडक कटानपछि वर्षैपिच्छे पुल अगाडि पहिराले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले पुल उपयोग गर्न नपाएको स्थानीय खडक विष्टले बताए । पुल सञ्चालनमा ल्याउनुभन्दा पनि पुललाई स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ । उक्त पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरूपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने जनाइएको छ ।
जयपृथ्वी नगरपालिका–३ पडेससँग प्रत्यक्ष सम्बन्ध भएको भण्डारका स्थानीयलाई उक्त पुल स्थान्तरण गरेमा सहज हुने देखिन्छ । जोखिम मोलेर खोला तर्दा दिनहुँ आफूहरूलाई समस्या हुने गरेको र धेरै वर्षा भएर खोला बढेको दिनमासमेत विद्यालय छुट्ने गरेको पाण्डु माध्यमिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले बताउनुभयो ।
उनले भने, “भण्डार गाउँबाट हामी करिब ४० जना पढ्नका लागि खोला तरेर जान्छौँ । बर्खाको दुई, तीन महिना त हामीलाई साह्रै अप्ठ्यारो हुन्छ ।” त्यस्तै सोही विद्यालयमा अध्ययनरत छात्रा समिता थापाले भनिन्, “खोला तर्दा पोशाक, झोला, कापी, किताब सबै भिज्छन् अनि विद्यालय जानुभन्दा घरमै बस्छौँ । छोराछोरी विद्यालयबाट घर नफर्केसम्म बाटो हेरेर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । बिहान विद्यालय जाने बेला र बेलुका विद्यालयबाट आउने बेलामा खोला तार्न एक जनाले दैनिक जानुपर्ने बाध्यता रहेको स्थानीय उकेश विष्टले बताए ।

वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई त्यो विषयमा स्थानीयले कुनै कुरा नगरेको र आफूलाई जानकारी नभएको जानकारी दिए । स्थानीयले आफूकहाँ माग लिएर आए उक्त विषयमा छलफल गरिनेसमेत वडाध्यक्ष सिंहको भनाइ छ । जयपृथ्वी–१ का स्थानीयले सदरमुकाम चैनपुर जान हाल उक्त खोला तरेर जानुपर्ने बाध्यता रहेको छ ।

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सबस्टेसन

काठमाडौं, २० साउन (रासस): आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्नेछन् । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सबस्टेसन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । कुल २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश: २६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् ।

साथै कोसी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारणलाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको जानकारी दिए । कुल २२० केभी प्रसारणलाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको उनले उल्लेख गरे ।
“मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सबस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सबस्टेसनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकाले उद्योगलाई थप विद्युत दिन सकिन्छ साथैं भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ,” उनले भने ।
संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत आयोजनाका विद्युतगृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोसी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिने छ ।
नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बंैकको सहुलितपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सबस्टेसन सञ्चालनमा नआएकाले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारणलाइन गत भदौदेखि ३३ केभीमा चार्ज गरिएको थियो ।
प्रसारणलाइन र सबस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गरे । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् ।
इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने छ ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोसी करिडोरअन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए ।
कोसी करिडोरको २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एकतर्फ मात्र तार तानिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।
कोसी करिडोर प्रसारणलाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।
अरुण र तमोर नदी र तिनीहरूका सहायक नदीबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्