घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने दावी «

घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने दावी

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्ष भित्रै घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने बताएका छन् ।
आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष हमालले सरकारको नीति तथा कार्यक्रम र बजेटले नै व्यवस्था गरेकाले रियलस्टेट सेक्टरलाई पुँजी बजारमा ल्याउने दाबी गरे । हमालले चालु आर्थिक वर्षभित्र नै साना मझौला तथा लघु उद्योग तथा कम्पनीहरु (एसएमईज) लाई समेत पुँजी बजारमा ल्याउने बोर्डको नीति रहेको बताए ।
अध्यक्ष हमालले स्थापित कम्पनीको स्वामित्व जनतामा गए उनीहरुको आर्थिक स्थिति पनि सुधार हुने बताए । उनले दुई महिनाभित्र नेप्सेमा प्राविधिक समस्या भए समाधान गरेर जाने बताए । अध्यक्ष हमालले बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताए । उनले बुक बिल्डिङ प्रणालीमा विगतमा भएको दुर्घनालाई अर्काे दुर्घटना नहुने गरी काम गर्ने जिम्मेवारी बोर्डको रहेको बताए । उनले धितोपत्र बोर्डले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याएको सेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने दावी गरे ।
अध्यक्ष हमालले बोर्डले हरेक काम सेयर बजारका लगानीकर्ताको हक हीतमा काम गर्ने बताए । उनले कुनैपनि निर्णय गर्दा बोर्डले लगानीकर्ताको हित सोचेर मात्रै गर्ने बताए । अध्यक्ष हमालले धितोपत्र बजारमा समस्या र चुनौती धेरै भएपनि अवसर खोज्नुपर्ने बताए । उनले सेयर बजारलाई लगानीकर्ताले विश्वास गरेकाले बोर्डले लिएको उद्देश्य पूरा हुने बताए ।
अध्यक्ष हमालले सेयर ब्रोकरहरुको धेरै संख्यामा आवश्यक नभएको भन्दै पुँजी वृद्धिसँगै गुणात्मक सुधारमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्