हत्या तथा आत्महत्याका डरलाग्दा रूप «

हत्या तथा आत्महत्याका डरलाग्दा रूप

साउन ८ गते झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रूखमा तीन जना किशोरी झुन्डिएर आत्महत्या गरेका थिए । आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुन्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको स्थानीयले शव भेटेका थिए । तीनै जना चिया बगानमा मजदुरी गर्दै आएका उनीहरू शनिबारदेखि नै बेपत्ता भएका थिए । ती किशोरीहरू एक–अर्काबीचका साथीसाथी मात्र नभई सँगै काम गर्ने साथी पनि हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जनाले डोरी र एक जना सलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाका कारण सिंगो गाउँ नै यतिबेला शोकमा डुबेको छ ।
त्यस्तै गएको साउन ९ गते चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर हत्यारा श्रीमान्को पनि मृत्यु भएको थियो । भरतपुर महानगरपालिका वडा नं. १० का ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्यलाई घरमा गम्भीर घाइते बनाएका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उता श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान् कृष्णप्रसादले घरको तीन तला माथिबाट हाम फालेर भाग्न खोज्दा उनी गम्भीर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएकोे थियो ।
माथिका दुई फरक प्रकृतिका हत्या र आत्महत्या त एक प्रतिनिधि घटना हो, जसले आममानिसलाई स्तब्ध बनाएको छ । किशोर अवस्थामा रहेका तीन किशोरीलाई आत्महत्या गर्नुपर्ने के त्यस्तो समस्या गुज्रियो र आत्महत्याको बाटो रोजे भन्नेमा प्रश्नचिह्न खडा हुन्छ । भर्खरको लाऊँलाऊँ खाऊँखाऊँको उमेरमा जीवनलाई परित्याग गर्दा हाम्रो समाज र संस्कार कता ढल्कँदै छ भन्ने लाग्छ । कतै परिवारमै शिक्षाको कमी भएको त होइन भन्ने शंका गर्ने बाटो भएको छ । माथिको सामूहिक आत्महत्याले गम्भीरता बनाएको छ । तीनै जना किशोरी एकै स्थानमा झुन्डिएर सामूहिक आत्महत्या गर्दा पक्कै पनि तीनै जनाले एकै पटक गरेनन् होला । यदि आलोपालो गरी झुन्डिएका हुन् भने मृत्युसँग किन डराएनन् त ? यस्ता विषयमा गम्भीर समीक्षाको खाँचो छ । कतै उक्त घटना आत्महत्या नभई हत्या त थिएन भन्नेमा शंका गर्न पनि सकिन्छ । उता अर्को घटनामा आफ्नै श्रीमान्सँग श्रीमती सुरक्षित भइनन् । आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गरी आफू बच्न खोज्दा संसारबाटै बिदा भए । त्यस्तै प्रकृतिको घटना हालै मात्र काभ्रेस्थलीमा समेत भएको थियो । हत्या किन सहज हुन थाल्यो ? मानिसमा किन समवेदना हराउँदै गयो ? चेतनशील प्राणी आज क्रूर बन्दै गइरहेको छ । हाम्रो संस्कार खस्किँदै गएको भान हुँदै गइरहेको छ ।
हिजोआज यस्ता हत्या तथा आत्महत्याका घटनाको डरलाग्दो रूप बन्दै गइरहेको छ । हामीले दैनिकजसो सञ्चारमाध्यममा यस्ता घटनाका समाचार पढ्ने र सुन्ने गरेका छौं । यस्ता प्रकृतिका घटनालाई शून्यमा झार्नुपर्ने अवस्थाको खाँचो छ । नेपाल प्रहरीको तथ्याङ्क हर्ने हो हरेक आर्थिक वर्षमा हत्या तथा आत्महत्याका घटना वृद्धि भएको देखिन्छ । यस्ता घटना वृद्धि भइरहँदै जाने हो भने सुरक्षाका चुनौती बढ्दै जाने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्