Logo

मृत्यु शोकको अनौठो उत्सव गाईजात्रा

गाईजात्रा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्व हो । गाईजात्रा पर्व नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरु भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यंग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्छन् । गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरूमा लेखिएका र किंवदन्तीहरूका अनुसार यस दिन काठमाडौं उपत्यकावासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्छन् । यस दिन भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्छ ।
वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महŒव बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरी यो पर्व मनाइने भएकाले यस पर्वलाई गाईजात्रा भनिएको हो । ऐतिहासिक प्रमाणअनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यो जात्रा विशेषत: गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरूका लागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्छ । सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुण्डोसहितका झाँकीलगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुट्किला र प्रहसनसमेत गरिन्छ । मृत्यु भएका आफन्तको सम्झनामा गरिने जात्रामा आत्मसात् गरिएको रमाइलो र हाँसोका माध्यमहरूलाई विचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रूपमा लिएर अघि बढ्नका लागि मृतकका शोकसन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँछ ।
सापारु भनेर मनाइने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्छन् । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दूधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू पनि गाइने चलन छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोराजनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य अंक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । गाईजात्राको दिन यमराज अर्थात् मृत्युका देवताको पूजाअर्चना गरेमा मृतआत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रहिआएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि–अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाईजस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजापताकाहरू तथा बितेका आफन्तजनको तस्बिरसहित जात्रामा समावेश हुन्छन् । गाईजात्राले वर्षा अनि चाडपर्वहरू नजिकिँदै गरेको सङ्केत पनि गर्छ । पारिलो घाम, उज्याला दिनहरू, चिसिँदै गरेका बतास अनि खेतको सकिएको रोपाइँ । यस अर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो— गाईजात्रा ।

प्रतिक्रिया दिनुहोस्