‘युटिलिटी करिडोर’ विधेयक ल्याउन जोड

सडक विस्तार तथा निर्माण गर्दा अन्य पूर्वाधारमा क्षति पुगेको भन्दै संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई ‘युटिलिटी करिडोर’ सम्बन्धी विधेयक तत्काल ल्याउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले युटिलिटी करिडोरसम्बन्धी कानुन हालसम्म प्रचलनमा नरहेकाले विधेयक ल्याउन निर्देशन दिएको हो ।
सडकमा निर्माण हुने पूर्वाधारमा सरोकारवाला तथा नियामकसँगको समन्वय अभावका कारण खानेपानी, ढल, विद्युत, सडक विस्तारलगायत कार्यमा समस्या भइरहेकाले समितिले ‘युटिलिटी करिडोर’ सम्बन्धी विधेयक तत्काल ल्याउन भनेको हो । सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिने खानेपानी, ढल, विद्युत र सडक विस्तारका कार्यले सञ्चार प्रविधि सम्बन्धी भूमिगत उपकरणहरुमा क्षति पुगिरहेकाले सञ्चारका प्रविधि लगायत अन्य प्रविधिहरुमा क्षति नपुग्ने गरी अन्य पूर्वाधार निर्माण गर्ने कार्य प्रारम्भ गर्न पनि समितिले निर्देशन दिएको छ ।
यसअघि सहरी विकास प्राधिकरणले तयार पारेको मस्यौदाको दफामा मात्र ‘युटिलिटी करिडोर’ सम्बन्धी व्यवस्थालाई खुम्च्याइएको भन्दै समितिका सदस्य सचिव ओमबहादुर कार्कीले पूर्वाधार विस्तार तथा निर्माण गर्न छुट्टै ‘युटिलिटी करिडोर’को विधेयक नै आवश्यक रहेको बताए ।
उनले भने, “पूर्वाधारको काम गर्न विभिन्न निकायबीच समन्वयको अभावमा एउटाले बनाउने र अर्काेले भत्काउने परिपाटी कायमै छ । यसको दीर्घकालीन समाधानको लागि ‘युटिलिटी करिडोर’ सम्बन्धी विधेयक आवश्यक रहेको ठहर समितिले गरेको ठहर हो ।” ‘युटिलिटी करिडोर’ सम्बन्धी विधेयक तयार गर्न यसअघि पनि सरकारलाई समितिले निर्देशन दिएको थियो । जसको निरन्तरतास्वरुप समितिले बिहीबार निर्देशन दिएको सदस्य सचिव कार्कीको भनाइ छ । यसका लागि अनिवार्य रुपमा सम्बद्ध निकायहरुको बीचमा समन्वय गर्न र यस्तो कार्यलाई व्यवस्थित गर्ने युटिलिटि कोरिडोर सम्बन्धी विधेयक तत्काल पेश गर्न निर्देशन दिइएको छ । यो व्यवस्था नहुँदा विभिन्न निकायबाट गरिने पूर्वाधार विस्तारको काममा समस्या भइरहेको समितिले निष्कर्ष निकालेको छ । यसका लागि समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयको पुन: ध्यानाकर्षण गराएको छ । सडक क्षेत्रमा निर्माण हुने ‘युटिलिटी करिडोर डक्स’बाट जीवनयापनको लागि आवश्यक पर्ने टेलिफोन, इन्टरनेट, विद्युत लाइन, पानीका पाइप, तथा अन्य सेवा घरसम्म विस्तार गर्ने गरिन्छ । सडकको विस्तार वा निर्माण गर्नुपूर्व नै ‘युटिलिटी करिडोर’ को सडक तथा सडक माथि कुन मार्गबाट लैजाने तय गरिएको हुन्छ ।