Logo

मौद्रिक नीतिले बैंकको आम्दानी घट्छ : अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् ।
अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताए । उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने दावी गरे । अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । उनले बैंकको सेयरहोल्डर र लगानीकर्तालाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको गुनासो गरे ।
अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताए । उनले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको दावी गरे । उनले मौद्रिक नीति निर्यातलाई अझ कडाइ गर्नुपर्ने पनि बताए । अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरु रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताए । उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे ।
अध्यक्ष गोल्यानले गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखेपनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताए । उनले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिएपनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको बताए ।
अध्यक्ष गोल्यानले मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य पूरा गर्न बैंकहरु राष्ट्र बैंकसँग हातेमालो गर्न तयार रहेको बताए । उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गरे । गोल्यानले सेयर बजारका लगानीकर्ता अब सकारात्मक हुनु पर्ने बताए । उनले सेयर धितो कर्जामा लगाईको १२ करोडको सीमा साना लगानीकर्ताको लागि राम्रो भएको बताए । उनले राष्ट्र बैंकले ल्याउने शेयरकर्जा नीति प्रोमोटर सेयर होल्डरहरुलाई बढी ताकेता भएको बताए ।
अध्यक्ष गोल्यानले घरजग्गा कारोबारको लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेको बताए । उनले घर जग्गा किनबेचको लागि बैंकहरुबाट कर्जा जानु नहुने बताए । गोल्यानले मौद्रिक नीतिले निर्यातलाई प्रोत्साहन दिएर नीति ल्याएता पनि सरकारको नीति निर्यातमैत्री नभएर आयातमैत्री रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्