भाइरल ज्वरोबाट बच्ने उपाय

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेष गरी रोग लागेका व्यक्तिको शरीरमा भएको तरल पदार्थबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । रोगीले खोक्दा, हाच्छ्युँ गर्दा शरीरमा भएका ब्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन् । अझ भनौँ, जब मानिसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि मानिसलाई भाइरल ज्वरो आउँछ । प्राय: मौसम परिवर्तन हुने समयमा मानिसलाई भाइरल ज्वरो आउँछ । भाइरल ज्वरोकै कारणले जन्डिस, टाइफाइड, भाइरस इन्फेक्सन (वाकवाकी, पखाला तथा पेट दु:ख्ने र ठेउलासम्म हुन सक्छ । ज्वरो आउँदा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरल बलियो हुन्छ । तर, १०/१५ दिनमा ज्वरो आफैँ ठीक हुन्छ ।
श्वासप्रश्वासको बेलामा नाकबाट घाँटी हँुदै फोक्सोसम्म पुग्ने भाइरसले फोक्सोमा इन्फेक्सन गराउन थाल्छ । त्यहाँबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउने हो । ज्वरो आउँदा मानिसको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसहरू बलियो हुने गर्छन् । तर, ७२ घण्टादेखि पाँच दिनभित्रमा भाइरस क्रमश: शिथिल हुँदै गएको खण्डमा आफैं निको हुन्छ । तर, कहिलेकाहीं भाइरस तोकिएभन्दा बढी समय कडा रूपमा क्रियाशील हुन्छ । यस्तो अवस्थामा बढिरह्यो भने मानिसको ज्यानसमेत जान सक्छ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउने र नाक दुख्ने हुन्छ । जब भाइरस घाँटीमा पुग्छ अनि घाँटी खसखस गर्छ । अनि त्यो अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ ।
भाइरलको प्रवेशसँगै नाकबाट हाच्छ्युँ आउने, रुघा लाग्ने, नाकको स्वर फेरिने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरो आउँदा शरीरमा तातो हुन्छ । किनकि ताप निकाल्न शक्ति चाहिन्छ । शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुने भएपछि शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घण्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफसे आफ हराएर जान्छ । कमन कोल्ड (रुघाखोकी), १०२/३ डिग्री ज्वरो आउनु, कुनै एक समय (बिहान, दिउँसो, राति) ज्वरो आउनु, खोकी लाग्नु, खान मन नलाग्नु, अल्छी लाग्नु, जीउ दु:ख्नु, टाउको दु:ख्नु, घाँटी दु:ख्नु । भाइरल ज्वरोबाट बच्ने उपाय भनेकै सबैभन्दा पहिला भाइरल लाग्नै नदिनु हो । धूवाँ–धूलोबाट बच्ने, मुखमा मास्कको प्रयोग गर्ने, भिटामिन सी तथा फलफूल खाने, उमालेको पानी प्रशस्त पिउने, जंकफुड नखाने, सरसफाइमा विशेष ध्यान दिने, खोक्दा, हाच्छ्युँ गर्दा वा हाइ गर्दा सधैँ रुमालले मुख छोप्ने गर्नुपर्छ । भाइरल ज्वरो आएमा सिटामोल, एन्टिकोल्ड, निकोलगायतका औषधि प्रयोग गर्न सकिन्छ । तर, ज्वरोकै कारणले लाग्न सक्ने अरू रोगबाट बच्नका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ ।
भाइरल ज्वरो आउँदा केही मानिसहरूले चिकित्सकको सल्लाहबिना ज्वरो घट्ने औषधि, शरीर दुख्यो भनेर पेन किलर र एन्टिबायोटिकलगायतका औषधि खाने गर्छन् । तर, यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ । भाइरल ज्वरो एन्टिबायोटिक औषधीले उपचार हुँदैन । वास्तवमा ब्याक्टेरियालाई मार्नका लागि एन्टिबायोटिक्स बनाइएको हुन्छ । तर, यसले भाइरसलाई मार्न सक्दैनन् । तसर्थ, अनावश्यक रूपमा एन्टिबायोटिक खाँदा अम्लीयपन, पेट दुख्ने र कतिपय अवस्थामा कलेजो र किड्नीलाई नै असर गर्छ । भाइरल फ्लु सरुवा रोग हो । अरूबाट आफूलाई यो सर्न नदिन वा अरूलाई सर्न नदिन हात राम्रोसँग साबुनपानीले धुनुपर्छ । नाक र आँखा हातले चलाउनु हुन्न । सिंगान र खकार जथाभागी फाल्नु हुन्न । यस्तोमा सफा रुमाल या पेपर प्रयोग गर्नुपर्छ । सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी सेवन गर्नु हुँदैन ।