बजेट नआउँदा धर्मशाला निर्माण अलपत्र

धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा निर्माणाधीन धर्मशाला अलपत्र परेको छ । पाँच वर्षअघि निर्माण थालिएको धर्मशाला हालसम्म पनि पूरा हुनसकेको छैन ।
निर्माणका लागि यो वर्ष बजेट नआउँदा निर्माणकार्य बीचमै रोकिएको छ । कुनै पनि निकायबाट बजेट नआउँदा धर्मशाला निर्माण नै अन्योलमा परेको हो । नेपाल सरकार, तात्कालीन जिल्ला विकास समिति प्यूठान र स्वर्गद्वारी आश्रमको संयूक्त लगानीमा धर्मशाला निर्माणकार्य थालनी गरिएको थियो । स्वर्गद्वारी आश्रमनजिकै धरमपानीमा अत्याधुनिक भवनसहित २ सय ५० कोठा निर्माण गर्ने योजनाअनुसार काम अघि बढाइएको हो । ५ करोडको लागत स्टिमेटअनुसार ३ वर्षसम्ममा काम पूरा गर्ने गरी श्यामसुन्दर निर्माण सेवा काठमाडौंले निर्माण जिम्मा लिएको थियो । भवन निर्माणको ४० प्रतिशत काम अझै बाँकी रहेको कम्पनीका प्रतिनिधि उमाकान्त शर्माको भनाइ छ । यो वर्ष काम गर्ने कुनै अख्तियारी प्राप्त नभएको उनले बताए । “बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माणकार्य अगाडि बढेको हो,” उनले भने, “यो वर्ष कुनै बजेट परेको छैन ।” झण्डै ३ करोड बराबरको काम सम्पन्न भएको उनले बताए ।
ठूलो क्षेत्रफलमा फैलिएको निर्माणाधीन भवन कतै तला ढलान भएरमात्रै छोडिएको छ भने कतै तला उठाउनका लागि सरियामात्रै ठड्याइएका छन् । सम्पन्न गरिएको काम समेत पुनः जीर्ण त बन्ने होइन भन्ने सरोकारवालाको चिन्ता छ । भवन निर्माणका लागि रकम कहाँबाट आउने भन्ने समस्या देखिएको स्वर्गद्वारी आश्रमका लेखापाल वासुदेव भट्टराईले बताए । “पहिले डोलिडारबाट पैसा आएको हो,” भट्टराईले भने । स्वर्गद्वारीमा आउने पर्यटकलाई उचित बासस्थानको प्रबन्ध गर्ने योजनाअनुसार धर्मशाला निर्माण अगाडि बढाइएको हो । पर्याप्त धर्मशाला नहुँदा दर्शनार्थीलाई बास बस्न समस्या रहँदै आएको आश्रमका सहायक कोठारी बाबुराम न्यौपाने बताउँछन् ।
बाँकी रहेको कामलाई पूर्णता दिनका लागि विभिन्न निकायममा बजेट मागका लागि पहल थालेको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायले बताए । नगरपालिकाबाट बाँकी कामको पुनः लागत स्टिमेट तयार पार्ने काम सम्पन्न गरिएको उनले बताए । स्वर्गद्वारीमा दैनिक पर्यटकको संख्या बढ्दै गएकाले धर्मशाला छिटो निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
स्वर्गद्वारी आश्रममा बर्सेनि झण्डै पाँच लाख पर्यटक आउने गर्दछन् । भारतका विभिन्न क्षेत्रबाट बढी मात्रामा तीर्थयात्री आउने गर्छन् । पछिल्लो वर्ष नेपालका धेरै जिल्लाबाट समेत पर्यटक आउन थालेको स्वर्गद्वारी आश्रमका सहायक कोठारी न्यौपानेले बताए ।
स्वर्गद्वारी आश्रमनजिकै निर्माणाधीन धर्मशाला । बजेट अभावमा धर्मशाला निर्माणमा अन्योलता छाएको छ । तस्बिर ः कारोबार