Logo

रेमिट्यान्सले नेपालीलाई अल्छी बनाउँदै

महँगीले आमनेपालीको ढाड सेकिरहेको छ । स्वदेशमा रोजगारीको सुनिश्चितता पटक्कै छैन । भएका कलकारखाना, उद्योगधन्दा संकटमा पुगिसके । तर, सरकार मूकदर्शकका रूपमा हेरिरहेको मात्र छ । भ्रष्टाचारले मुलुक थिलथिलो परेको छ, जनतालाई गरिबीले दिनप्रतिदिन गिजोल्दै छ । सहजै चुलो बल्ने अवस्था छैन । साधारण मानिसमा केही गर्न खोज्दा पुँजीको अभाव, सजिलै बैंकले ऋण दिने अवस्था छैन । यस्तै देशका विविध समस्याले रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता छ । विदेशी भूमिमा कमाएर नेपालमा रेमिट्यान्स पठाएकै भरमा परिवारमा जाँगर हराउँदै गएको छ । एक परिवारको एक व्यक्तिले विदेशबाट पठाएको रेमिट्यान्सले उसको सिंगो परिवार बिनादुःख पालिन सक्ने हुँदा कृषिमा जाँगर बढ्नै छोडेको अनुमान लगाउन गाह्रो पर्दैन । गाउँगाउँमा यस्ता विकृतिले कृषि उत्पादनमा कमी आएको छ । यस्तो अवस्था सरकारले देख्दादेख्दै कुनै पहलका कार्य नगर्दा हामी परनिर्भर भई बाँच्नुको विकल्प रहँदैन, अनि मुलुक पनि रेमिट्यान्समा रमाउन थालेको छ । त्यसैकारण रोजगारीका लागि बिदेसिनेको लर्को दिनहुँ एयरपोर्टमा देख्न सक्छौं । अनि सरकार श्रमजीवी नेपाली नागरिकलाई विदेशी भूमिमा जान प्रेरित मात्र गरिरहेको छ । रोक्नका लागि कुनै पहल नै गरिरहेको छैन ।
आमनेपाली बिदेसिँदै गर्दा हाम्रो मुलुक आयातमा मात्र निर्भर भएको छ । कुनै जमाना थियो, नेपालमा उत्पादन भएका विभिन्न कृषि सामग्री विदेशी मुलुकमा निर्यात हुन्थ्यो । समय फेरिएको छ, अहिले हामीले प्रयोग गर्ने दैनिक सामग्रीहरु अन्य मुलुकबाट आयातित भइसकेका छन् । हामी कुनै पनि सामग्रीमा आत्मनिर्भर हुनै सकिरहेका छैनौं । सुन्दा पनि आश्चर्य लाग्छ, हामीले खाने हरेक वस्तु, लगाउने हरेक वस्तु, चढ्ने, चलाउने यी यावत् विषयमा हामी आयातित सामग्रीकै प्रयोग गरिरहेका हुन्छौं । हुन त विश्व नै परनिर्भरमा छ, कुनै पनि मुलुक आत्मनिर्भर बन्न सकिरहेका छैनन् तर प्रयास भने गरिरहेका हुन्छन् । तर, हाम्रो मुलुकमा सम्भाव्यता हुँदाहुँदै पनि हामी परनिर्भरमा बाँच्न रमाइरहेका छौं । साहसिक नेपाली, कर्ममा विश्वास गर्ने नेपाली, माटोलाई माया गर्ने र माटोसँग रमाउने नेपालीलाई आज रेमिट्यान्सले अल्छी र यसको प्रभावले बिगारेको छ । यो सिंगो मुलुकका लागि विडम्बनाको विषय बनेको छ । यसको समाधान समयमा नै नखोज्ने हो भने हाम्रो मुलुक श्रीलंकाको पथमा जान कुनै समय नै लाग्दैन ।
कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । विदेशी भूमिमा रोजगारीका लागि दैनिक रूपमा नेपाली बिदेसिए पनि कृषिले भने कुल जनसंख्याको ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको छ भने जीडीपीको करिब २७ प्रतिशत योगदान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा रहेको छ । त्यसैले कृषिक्षेत्रको विकास सिंगो राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महŒवपूर्ण छ । तर, हामीले कृषिबाट उल्लेख्य परिवर्तन गर्न भने सकिरहेका छैनौं । कृषिबाट परिवर्तन सम्भव हुँदाहुँदै पनि सरकारका तर्फबाट त्यसको प्रभावकारितामा खासै चासो नदेखाउँदा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौं । सरकारले रेमिट्यान्सलाई मात्र प्राथमिकता दिइरहँदा नेपालको कृषि प्रणालीमा नै समस्या आउने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्