Logo

दोलखाका स्थानीय तहको बेरुजु ३६ करोड

आर्थिक वर्ष २०७७/०७८ मा दोलखाका स्थानीय तहको बेरुजु रकम ३६ करोड १९ लाख ८० हजार रहेको पाइएको छ । महालेखा परीक्षकले गरेको अन्तिम लेखा परीक्षणमा सो रकम बेरुजु भएको पाइएको हो ।
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका ९ वटा स्थानीय तहमा सो रकम बेरुजु देखिएको उल्लेख छ ।
प्रतिवेदनकाअनुसार जिल्लाका ९ स्थानीय तहमध्ये रकमका हिसावले सबैभन्दा बढी भीमेश्वर नगरपालिकाको तथा सबैभन्दा कम तामाकोसी गाउँपालिकाको रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा भीमेश्वर नगरपालिकाको बेरुजु रकम ९ करोड ६९ लाख ७० हजार रहेको छ भने सबैभन्दा कम तामाकोसी गाउँपालिकाको १ करोड १ लाख ४२ हजार रहेको छ ।
यसैगरी अन्य स्थानीय तहमा बैतेश्वर गाउँपालिकाको ७ करोड २९ लाख ८१ हजार, मेलुङ गाउँपालिकाको ४ करोड ८२ लाख ६० हजार तथा विगू गाउँपालिकाको ४ करोड ३४ लाख ९४ हजार रहेको छ । यस्तै कालिञ्चोक गाउँपालिकाको २ करोड ७७ लाख ८४ हजार, शैलुङ गाउँपालिकाको २ करोड ६२ लाख ४६ हजार र गौरीशंकर गाउँपालिकाको १ करोड ९३ लाख २० हजार बेरुजु देखिएको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कुल लेखापरीक्षण गरिएको रकमको प्रतिशतका हिसाबले भीमेश्वर नगरपालिकाको ४.८०, बैतेश्वर गाउँपालिकाको ६.३३ र विगु गाउँपालिकाको ४.२० प्रतिशत रकम बेरुजु देखिएको छ । अघिल्लो वर्ष पनि बैतेश्वर गाउँपालिका र मेलुङकै बेरुजु धेरै थियो ।
यसैगरी मेलुङ गाउँपालिकाको ४.५, शैलुङ गाउँपालिकाको २.१६, तथा कालिञ्चोक गाउँपालिकाको १ दशमलब ९५ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै गौरीशंकर गाउँपालिकाको १.८८, जिरी नगरपालिकाको १.६८ र तामाकोसी गाउँपालिकाको ०.८३ प्रतिशत रकम बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्