Logo

स्थानीयतहमै पहिलो तातोपानीमा कार्य सम्पादन सम्झौता

कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्य पहिलो स्थानीयतहका रूपमा जुम्लाको तातोपानी गाउँपालिकाले कार्य सम्पादन सम्झौता गरेको छ । चालू आवदेखि लागू हुने गरी तातोपानीले गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई र प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाबीच कार्यक्रम सम्पादन सम्झौता भएको हो ।
पुँजीगत बजेट खर्च बढाउन,गुणस्तरीय विकास गर्न, सेवा प्रवाहलाई चुस्त छिटो छरितो र सहज बनाउन, समयमै योजना सम्झौतादेखि ढिलोमा वैशाख अन्तिममा भुक्तानी दिई सक्न लगायतका नमुना पालिका बनाउने परिकल्पनाका साथ ६ बुदेँ कार्य सम्पादन सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले बताए ।
उनले भने, “कर्मचारी र जनप्रतिनिधिबीचको कार्य सम्पादन सम्झौताले दुई पक्षलाई जनताका लागि काम गर्न थप जिम्मेवार बनाउँछ । कर्णाली प्रदेश सरकारपछि कर्णालीका स्थानीयतह मध्य कार्य सम्पादन सम्झौताको पहिलो अभ्यास पनि गर्दै छौं । यसले समग्र पालिकाको विकास र सेवा प्रवाहमा फेरबदल ल्याउने विश्वास छ ।”
गाउँसभाबाट पारित नीतिको पूर्ण कार्यान्वयन गर्नुपर्ने, प्रत्यक चौमासिकमा प्रगति विवरण सार्वजानिक गर्नुपर्ने, कुनै अत्याआवश्यक नीति बनाउन परेमा अध्यक्षसँग समन्वय गर्नुपर्ने लगायतका काम गरिने सम्झौतामा उल्लेख छ ।
साथै अध्यक्षसँग भएको सम्झौतापश्चात् प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले तातोपानी गाउँपालिकाका कृषि, शिक्षा, पशु, स्वास्थ्य, महिला तथा बालबालिका, योजना शाखा, प्राविधिक शाखा,प्रशासन शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, सूचना प्रविधि शाखा लगायतका करिब १४ वटा शाखा संग कार्य सम्पादन सम्झौता गर्ने छन् ।
कर्णालीका स्थानीयतमध्ये पहिलो र नमुना अभ्यासका रुपमा कार्य सम्पादन सम्झौता गरिएको अध्यक्ष नन्दप्रसाद चौलागाई बताउँछन् । उनी भन्छन,“जनताको कामलाई छिटो छरितो गर्न र विकास निर्माणलाई गति दिन सम्झौता आवश्यक छ । सम्झौता कर्मचारी र जनप्रतिनिधि कसका कारण काममा ढिलाई भयो उसैले जवाफ दिने संयन्त्र पनि हो । सम्झौताको पूर्ण कार्यान्वयन आम जनप्रतिनिधि कर्मचारी प्रतिबद्ध हुने छौं ।”
यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट खर्च बढाउन मातहतका मन्त्री र मन्त्रालयबीच कार्य सम्पादन सम्झौताको थालनी गरेको थिए । त्यसपछि बजेट खर्चमा भने केहि सुधार आएको थियो ।

प्रतिक्रिया दिनुहोस्